
काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले स्व. गिरिजाप्रसाद कोईरालाका लागि राष्ट्रपति बन्नु/नबन्नुको कुरा प्रमुख विषय नरहेको स्पष्ट पार्नुभएको छ ।
सोमबार नेपाल प्रेस युनियनले काठमाडौंमा गरेको श्रम, अधिकार र सम्झनामा गिरिजाबाबु नामक अन्तरक्रिया कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो ।
सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालले स्व. गिरिजाप्रसाद कोईरालाको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा स्व. कोईरालालाई आफूले राष्ट्रपति नबनाएकोमा पश्चताप लागेको बताउनुभएको थियो । प्रधानमन्त्री दाहालले आफू गणतन्त्रको पहिलो प्रधानमन्त्री हुँदा कोईरालालाई पहिलो राष्ट्रपतिको प्रस्ताव गर्नुपर्ने तर आफूले गर्न नसकेकोमा आफूलाई पश्चताप लागेको बताउनुभएको थियो ।
प्रधानमन्त्रीको सो अभिव्यक्तिबारे नेता रिजालले स्व. कोईरालालाई प्रधानमन्त्री दाहालले जति तिल लिएर श्रद्धाञ्जली व्यक्त गरेपनि नपुग्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहाललाई स्व. गिरिजाप्रसाद कोईरालालाई धेरै तिल हालेर श्रद्धाञ्जली दिएर पुग्छ भन्ने नठान्न आग्रह गर्नुभयो ।
नेता रिजालले कांग्रेससँगको प्रधानमन्त्रीको अहिलेको यात्रा १२ बुँदे समझदारीको निरन्तरता भएको बताउनुभयो । उहाँले नेपालको वर्तमान राजनीति स्व. कोईरालाको दिशा निर्देशअनुसार चलेको दाबी गर्नुभयो ।
नेता रिजालले प्रधानमन्त्री दाहालले १२ बुँदै सम्झौताको हरेक मसीको गहिराईलाई गम्भीरतापूर्वक बुझेर अघि बढे दाहालको राजनीतिक जीवन नेपाली जनताको सेवा गर्ने अवसर हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्