२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


समाजवादको उच्चतम परिभाषा ‘सर्वे भवन्तु सुखिन’ हो : कमल थापा


130
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजनीतिक दलहरुले भन्ने गरेको समाजवादको उच्चतम परिभाषा सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया रहेको बताउनुभएको छ ।

सोमबार काठमाडौंमा पार्टीले गरेको राप्रपा नेपालको हिन्दुराष्ट्रः अवधारणा र औचित्य अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरुले अहिले भन्ने गरेको समाजवाद वैदिक कालमा नै व्याख्या गरिसकिएको बताउनुभएको हो ।

अध्यक्ष थापाले सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया भन्दा समाजवादको उच्चतम र उत्कृष्ट परिभाषा अरु हुनै नसक्ने दाबी गर्नुभयो । उहाँले सबै सुखी हुन्, सबै समान हुन्, कोही पनि दुःखी र रोगी नहुन् भन्नेकुरा वैदिक कालमा नै शास्त्रले व्याख्या गरिसकेकाले अहिलेका राजनीतिक दलहरु र संविधानमा लेखिरहनुको अर्थ नरहेको जिकिर गर्नुभयो । उहाँले प्रजातान्त्रिक मूल्य र मान्यताको संरक्षणका लागि पनि नेपाल हिन्दुराष्ट्र हुनुपर्ने बताउनुभयो । उहाँले हिन्दु राष्ट्रका कुरा गर्दा अहिलेका आधुनिक कुरालाई वहिष्कृत गर्ने नभइ त्यसलाई पनि संरक्षण गरेर आर्थिक समृद्धिको दिशामा जान सकिने बताउनुभयो ।

अध्यक्ष थापाले उदार आर्थिक मान्यतालाई उपलब्धिको रुपमा लिने गरेको भएपनि यो कुरा वैदिक कालमा नै चर्चा भइसकेको बताउनुभयो ।