२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


अर्थतन्त्र सुुधारको सूत्रसहित परिसंघ पदाधिकारी मन्त्री र नेताको घरदैलोमा


39
Shares

काठमाडौं । नेपाल उद्योग परिसंघ र अर्थमन्त्री डा. प्रकाशशरण महतबीच छलफल भएको छ ।

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले सोमबार अर्थ मन्त्रालयमा छलफल गर्नुभएको हो ।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले अर्थतन्त्रलाई चलायमान बनाउन, घटेको निजी क्षेत्रको मनोबल उकास्न, ६ प्रतिशतको आर्थिक वृृद्धि हासिल गर्न बजेटको प्रभावकारी कार्यान्वयन एवं खुकुलो मौद्रिक नीतिमा जोड दिनुभयो ।

आन्तरिक उत्पादनलाई प्रवद्र्धन गर्न चोरी पैठारी नियन्त्रणका लागि कठोर बन्न उहाँले आग्रह गर्नुभयो । उहाँले उद्योगी व्यवसायीहरुलाई उधारो उठाउन सहजिकरण गर्न उधारो उठाउने ऐन ल्याउन आग्रह गर्नुभयो ।

साथै वित्तिय कसुरमा आर्थिक जरिवाना मात्रै हुनुपर्नेमा जोड दिदै उहाँले अग्रिम जमानत कानूनको आवश्यकता औल्याउनुभयो । हालै बजेटमा घोषणा गरिएको आयातित सामानमा लेवलिङ्ग लगाउनुपर्ने व्यवस्था साउन १ देखि कार्यान्वयनमा जान लागेको सूचना भन्सार विभागले सार्वजनिक गरिसकेको छ ।

तर सो सूचना स्पष्ट नभएको र चोरी पैठारी गरेर आयात गरिएका सामाग्रीमा समेत लेबलिङ्ग लगाएर बेच्न सक्ने भएकाले लेबलिङ्ग नगरिएका वस्तुहरु भन्सार विन्दुमै रोकिनुपर्नेमा अर्थमन्त्रीको ध्यानाकर्षण गराउनुभयो । सो अवसरमा अर्थमन्त्री महतले परिसंघले उठाएका विषयहरुलाई गम्भितापूर्वक लिएको बताउनुभयो ।

आजै परिसंघ पदाधिकारीले र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसंगपनि भेटेर अर्थतन्त्र सुधारका लागि सबै राजनीतिक दलको मुख्य एजेण्डा आर्थिक मुद्दा बन्नुपर्नेमा जोड दिएका थिए । अर्थतन्त्र सुधारका लागि आर्थिक विषयलाई प्राथमिकतामा राखेर निकास दिनुपर्नेमा अग्रवालले जोड दिनुभएको थियो । यसअघि परिसंघले प्रधानमन्त्री, कंग्रेस सभापति र गभर्नरसंग भेटगरी अर्थतन्त्रबारे ध्यानाकर्षण गराइसकेको छ ।