
इलाम । ट्राफिक प्रहरी कार्यालय इलामले आजदेखि साताव्यापी ट्राफिक सचेतनामूलक कार्यक्रम सुरु गरेको छ ।
सवारी दुर्घटना न्यूनीकरण तथा सडक सुशासन कायम गराउने उद्देश्यले साता ब्यापी ट्राफीक सप्ताह सञ्चालन गरेको हो । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार प्रोखेलले बाल बालिकाहरुलाई ट्राफिक सम्बन्धी जनचेतनामुल्क सन्देश प्रवाह गर्दै ट्राफिक सप्ताह २०८० शुभारम्भ गरीएको बताउनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि यात्रु र चालक सचेत हुनुपर्ने बताउनुभयो ।
आजदेखि सुरु भएको अभियान असार २५ गतेसम्म सञ्चालन हुनेछ ।
ट्राफिक सप्ताह सुभारम्भको अवसर पारेर एक जना असल चालकलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा मादक पदार्थ सेवन गरी सवारी साधन नचलाऔँ, सवारी चलाउँदा मोवाइल फोन प्रयोग नगरौँ, जेव्राक्रसबाट बाटो काट्ने यात्रीलाई प्राथमिकता दिऔँ’लगायत नारा लेखिएका प्ले कार्डसहित प्रभातफेरि समेत गरिएको थियो । इलामको ठुलो टुडिखेल बाट सुरु भएको प्रभातफेरि बजार परिक्रमा गर्दै गौतम बुद्ध सभागृहमा पुगेर सभामा परिणत भएको थियो ।
प्रभातफेरिमा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख, नागरिक समाज, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थी, सरकारी निकायका प्रमुख लगायतको सहभागीता थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख दिपक दुलालले यो सप्ताहमा ट्राफिक प्रहरीले सडक प्रयोगकर्तालाई बाटो काट्न सिकाउने, चालकको गल्ती औंल्याउने लगायत काम गरिने जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्