१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


महोत्तरीमा सामान्य विवादमा गोली चल्दा एकजना गम्भीर घाइते


1.833k
Shares

महोत्तरी । महोत्तरीमा गोली प्रहारबाट एक जना गम्भीर घाइते भएका छन् ।

महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. १ बसबिट्टीमा आपसी विवाद हुँदा लक्ष्मीपुर बस्ने ३८ वर्षीय कौशल मण्डलले चलाएको गोली लागि ४४ वर्षीय श्रवण यादव घाइते भएका हुन् । उनको अहिले जनकपुरस्थित जानकी हेल्थ केयरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसबिट्टी घर भएका यादवमाथि मण्डलले दुई राउण्ड गोली प्रहार गरेको इलाका प्रहरी कार्यालय रामगोपालपुरका प्रहरी इन्चार्ज प्रहरी नायव निरीक्षक सुमन सिंहले जानकारी दिनुभयो । कन्चट नजिक र दाहिने कुम माथिको भागमा गोली लागेका यादवलाई अस्पताल भर्ना गरिएको छ । उनीमाथि गोली प्रहार गर्ने मण्डललाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका थिए ।

आक्रोशित स्थानीयले मण्डललाई पनि कुटपिट गरेका थिए । स्थानीयको कुटपिटबाट घाइते भएका मण्डललाई जलेश्वर प्रादेशिक अस्पतालमा उपचार गराइ थप अनुसन्धान लागि जिल्ला प्रहरी कार्यालय महोत्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीलिप गिरीले बताउनु भयो ।

श्रवण यादवलाई दुई वटा गोली लागेको र अहिले उपचार चलिरहेको चिकित्सक सौरभ कर्णले बताउनु भयो । उहाँले गोलीले रगत नलीलाई नछोएकाले बढी रक्तश्राव हुन नपाउँदा बिरामी खतरामुक्त रहेको बतउनु भयो । त्यस्तै गोली लागेका यादवका आफन्त सुदीपकुमार यादवले कुकुरका लागि झगडा हुँदा गोली चलाएको बताउनु भयो ।घटनास्थलबाट प्रहरीले एक थान पेस्तोल, ३ थान गोलीको खोका बरामद गरेको छ ।