११ बैशाख २०८२, बिहिबार | Thu Apr 24 2025


शरद गौचन हत्यामा संलग्न समिरमान बस्नेतसहित दुई जनालाई जन्मकैद


5.499k
Shares

काठमाडौं । जिल्ला अदालत काठमाडौंले निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न गुण्डा नाइके समिरमान सिंह बस्नेतसहित २ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको एकल इजलासले बस्नेतलाई जन्मकैदको फैसला सुनाएको हो ।

जिल्ला अदालतले उनीसहितका अभियुक्तलाई दोषी ठहर हुने सजाय सुनाएको हो ।

हत्यामा मुख्य योजनाकारका रुपमा रहेका बस्नेतसहित काले भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको सजाय भएको छ । सोही हत्यामा संलग्न गोली प्रहार गर्ने लोप्साङ लामा भन्ने सोम तामाङलाई भने १५ वर्षको कैद सजाय तोकेको छ ।

सोही घटनामा संलग्न समिरमानकी श्रीमती माया शेरचनलाई १० वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना हुने सजाय हुने भएको छ ।

जिल्ला अदालतले १८ जना दोषी ठहर गर्दै ६ जनालाई यसअघि नै सफाइ दिएको थियो । २०७४ असोज २३ गते नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष गौचनमाथि काठमाडौंको मिनभवनस्थित प्रयागचोकमा गोली प्रहार गरी हत्या गरिएको थियो ।