
काठमाडौं । संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई दोस्रो पटक स्पष्टीकरण सोध्नुभएको छ ।
यही असास ११ गते पहिलो स्पष्टीकरणको अधिकारीले जवाफ नदिएपछि मन्त्री किरातीले के कति कारणले जवाफ नदिएको हो ? भन्ने बेहोराको दोस्रो स्पष्टीकरण सोध्नुभएको हो । पर्यटन मन्त्रालयका अनुसार बुधबारको मन्त्रीस्तरीय निर्णयबाट दोस्रो स्पष्टीकरण सोधिएको हो । तीन दिनको समय राखेर स्पष्टीकरण सोधिएको छ ।
असार ११ गते ९ बुँदे प्रश्न सोधिएको थियो । ७ दिनको समय राखेर सोधिएको प्रश्नको महानिर्देशक अधिकारीले जवाफ दिनुभएको छैन् । अधिकारीले आफूलाई मन्त्रिपरिषद्ले नियुक्ति दिएको भन्दै स्पष्टीकरण नदिने अडान राख्नुभएको छ । अब तीन दिन भित्र पनि जवाफ नआएमा भने कानून अनुसार प्रक्रिया अगाडि बढ्ने स्पष्टीकरण पत्रमा उल्लेख छ ।
महानिर्देशक अधिकारीले सरकारको नीति विपरीत अभिव्यक्ति दिँदै हिँडेको,हवाई सुरक्षा तथा नियमनमा ख्याल नगरेको,नेपाली हवाई उड्डयन क्षेत्रलाई आईकाओको कालोसूचीबाट हटाउन भूमिका नखेलेको,हालै सञ्चालनमा आएका दुई अन्तर्राष्ट्रिय विमानस्थल पोखरा र भैरहवाबाट समेत नियमित उडान गराउन नसकेको भन्दै मन्त्री किराँतीले स्पष्टीकरण सोध्नुभएको थियो । आफुले सोधेको स्पष्टीकरणको जवाफ नदिएपछि रुष्ट बन्नुभएका मन्त्री किराती ३ दिने स्पष्टीकरणको पनि जवाफ नदिए २४ घण्टे स्पष्टीकरण सोधेर अधिकारीलाई बर्खास्त गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्