
काठमाडौं । वन तथा वातावरण मन्त्री वीरेन्द्रप्रसाद महतोले वनको जग्गामा नेताहरुको आँखा लाग्ने गरेको बताउनुभएको छ ।
बिहीबार प्रतिनिधि सभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै मन्त्री महतोले वनको जग्गामा नेताहरुको ठूलो आँखा लाग्ने गरेको बताउनुभएको हो । उहाँले नेताहरुले वनको जग्गा किन्नका लागि राजनीतिक दबाब दिने गरेका बताउनुभयो ।
मन्त्री महतोले हाइड्रोपावरका अड्किएका काम गर्न फाइल ल्याउनका लागि आफूले निर्देशन दिएको भएपनि आफ्नो टेबलमा हालसम्म फाइल नआइपुगेको बताउनुभयो । उहाँले डिएफओले समेत मन्त्रीको कुरा नसुन्ने बताउनुभयो ।
मन्त्री महतोले डिएफओलाई रुख, र जग्गा कति छन् छुट्याएर पठाउने निर्देशन दिएपनि निर्देशन सुन्दै नसुन्ने बताउनुभयो । तर, व्यापारी गएर लेनदेनको कुरा गरेमा भने डिएफओले काम गर्ने गरेको उहाँले बताउनुभयो । मन्त्री महतोले हरेक प्रदेशले आ-आफ्नो प्रदेशमा छुट्टै वन नीति बनाएको उल्लेख गर्दै नीतिमा समेत संघ र प्रदेश सरकारका बीचमा समन्वय हुन नसक्दा काम गर्न गाह्रो भएको बताउनुभयो ।
मन्त्री महतोले काठ तौलिने सूत्रका कारण नेपालको काठ बिक्रि वितरण हुन नसकेको बताउनुभयो । उहाँले सूत्रका कारण काठको मूल्य बढी भएको र त्यसकारण बिक्री हुन नसकेको बताउनुभयो । यद्यपी यस सम्बन्धमा निर्णय गर्नका लागि मन्त्रालयले एउटा समिति निर्माण गरीसकेको उहाँले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्