
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व पूरा गर्नेगरी आउने बताउनुभएको छ ।
बिहीबार काठमाडौंमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसंघले संयुक्तरुपमा आयोजना गरेको आगामी मौद्रिक नीति सम्बन्धी सुझाव समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
गभर्नर अधिकारीले राष्ट्र बैंक आफ्नो जिम्मेवारीबाट भाग्न नसक्ने भन्दै मौद्रिक नीति समग्र अर्थतन्त्रको दायित्व, आर्थिक विकासमा केन्द्रित रहने बताउनुभयो । उहाँले राष्ट्र बैंकले अहिले मौद्रिक नीतिका लागि सुझाव संकलन गरिरहेको बताउनुभयो ।
यस अवसरमा निजी क्षेत्रले अर्थतन्त्रलाई मन्दीबाट बाहिर ल्याउनका लागि राष्ट्र बैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने सुझाएका छन् । मूल्यवृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति र समग्र माग वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो रहेको भन्दै राष्ट्र बैंक सजग भइ नीति ल्याउनुपर्ने निजी क्षेत्रको भनाइ छ । उद्योग क्षेत्रमा जाने लगानीमा लचिलो हुने नीति कायम गर्नुपर्ने उद्योगीले जोड दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्