२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तानको लाहोरमा वर्षाका कारण १७ जनाको मृत्यु, ५० घाइते


221
Shares

एजेन्सी । पाकिस्तानको लाहोरमा मुसलधारे वर्षाका कारण कम्तीमा १७ जनाको मृत्यु भएको छ भने ५० जना भन्दा बढी घाइते भएका छन् ।

त्यहाँको उद्धार विभागका अनुसार पञ्जाब प्रान्तको प्रान्तीय राजधानीमा २४ घण्टामा २९१ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

यो विगत तीस वर्ष यताको सवैभन्दा ठूलो वर्षा भएको बताइएको छ । भारी वर्षाका कारण बाढीमा डुबेर, करेन्ट लागेर तथा घरहरु भत्किंदा भग्नावशेषमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।

बुधबार साँझदेखि बिहीबार साँझसम्म भएको मुशलधारे वर्षाले भौतिक पूर्वाधारमा पनि ब्यापक क्षति पुर्याएको छ । प्रान्तीय विपद् व्यवस्थापन प्राधिकरणले शहरका अधिकांश सडक तथा अन्डरपासहरू डुबानमा पर्दा शहरमा आवागमन ठप्प भएको छ ।

पञ्जाब सरकारले डुबान क्षेत्रबाट पानीको निकास मिलाएर घरभित्र फसेका मानिसहरुको उद्धारका लागि युद्धस्तरमा काम भईरहेको बताएको छ ।