
काठमाडौं । ललिता निवास प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङ, पूर्व निर्वाचन आयुक्त सुधीरकुमार शाहलगायतको रिटमा विपक्षीलाई पनि सँगै राखेर सुनुवाई गर्ने आदेश भएको छ ।
गुरुङ लगायतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सिआइबीले भ्याकेट निवेदन दर्ता गराएपछि सँगै राखेर सुनुवाइ गर्ने आदेश भएको हो ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले ललिता निवास प्रकरणमा सरकारी कागजात कीर्ते गरेको भन्दै भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ लगायतका व्यक्तिलाई पक्राउ गरेको थियो । सिआइबीले अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरेको बताएपनि पक्राउ परेकाहरुले भने आफूलाई गैरकानुनी थुनामा राखिएको भन्दी सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएका थिए ।
पक्राउ परेकाहरुले बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराएलगत्तै केन्द्रीय अनुसन्धान ब्यूरोले पनि सर्वोच्चमा उनीहरुलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नाको कारणसहित भ्याकेट निवेदन दर्ता गराएको थियो ।
गुरुङ वादी रहेको रिटमा भ्याकेट निवेदन दर्ता गराएको सिआइबीलाई जानकारी दिएको नपाइएपछि अदालतले २४ घण्टाभित्र विपक्षीलाई जानकारी दिई इजलासमा पेश गर्न आदेश दिएको छ ।
सर्वोच्चले शुक्रबार आदेश दिएपनि आइतबार बिहानबाट समयको सुरुवात भएपछि सोमबार मात्रै अदालतमा लिखित जवाफ पेश हुने भएकाले त्यसपछि मात्रै उनीहरुको रिट पेशीमा चढ्ने छ ।
प्रतिक्रिया दिनुहोस्