१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


नेकपा एमालेद्वारा आइतबारको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध


299
Shares


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आइतबार पनि राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ ।

गत हप्ता सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आइरहेको । प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेको अडान छ ।आईतबार राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरुले उभिएर प्रधानमन्त्री दाहालले राजीनामा नदिएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने काम बन्द नगर्ने अडान लिएपछि राष्ट्रियसभा बैठक अघि बढ्न सकेन । बैठकमा बोल्दै एमालेकी सांसद भगवती न्यौपानेले प्रधानमन्त्रीको बहिर्गमन नभएसम्म आफूहरुले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिने अडान राख्नु भयो । उहाँले प्रधानमन्त्री दाहाल संसदमा आएर सो विषयको स्पष्टिकरण दिन लायक नरहेको जिकीर समेत गर्नु भयो । सांसद न्यौपानेले नेपालको सरकार बनाउन भारतलाई खुला आमन्त्रण गर्नेगरी अभिव्यक्ति दिने प्रधानमन्त्री दाहालले कसरी आफूले सो कुरा बोलेको होइन भनेर भन्नु भएको हो ? भनि प्रश्न समेत गर्नु भयो ।

प्रधानमन्त्री दाहालले नेपालमा पहिलो पटक ट्रक ल्याएका सरदार समुदायका सिंहबारे लेखेको पुस्तक विमोचनमा आफूलाई प्रधानमन्त्री बनाउन व्यवसायी सिंहले धेरै मिहिनेत गरेको र दिल्लीसमेत धाएको बताउनुभएको थियो । यसै बिषयलाई लिएर एमालेले विरोध गर्दे प्रधानान्त्री दाहालको राजीनामा माग गरेको हो । प्रधानमन्त्रीको भनाई गैरजिम्मेवार रहेको एमालेको दाबी छ ।
उता सत्ता गठबन्धनले भने एमालेले प्रधानमन्त्रीको राजीनामा माग्दैमा राजीनामा दिनु नपर्ने बताउँदै आएको छ । कुनै बेलाको प्रसंगलाई लिएर बोलिएको कुरालाई लिएर प्रधानमन्त्रीको राजीनामा माग्नु असंसदीय भएको गठबन्धनको दाबी छ । एमालेले राष्ट्रिय सभाका साथै प्रतिनिधि सभाको बैठक पनि अवरुद्ध गर्दै आएको छ । एमालेले आजको बैठक अवरोध गरेपछि राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले असार २५ गते बिहान ११ बजेर १ मिनेटमा बस्ने गरी बैठक स्थगित भएको जानकारी दिनुभयो ।