
काठमाडौं । श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट खेल्न जाने नेपाली टोलीको बिदाइ गरिएको छ ।
नेपाल क्रिकेट संघ, क्यानले एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरेको हो । इमर्जिङ टिम्स एसिया कप जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुँदैछ । टोली आजै श्रीलंका प्रस्थान गर्नेछ । नेपाल रहेको समूह बी मा पाकिस्तान ए,भारत ए र यूएई छन् । नेपालले पहिलो खेल जुलाई १४ मा पाकिस्तान ए सँग खेल्नेछ । दोस्रो खेल जुलाई १७ मा भारत ए र तेस्रो खेल जुलाई १९ मा युएईसँग खेल्नेछ ।
श्रीलंका ए,बंगलादेश ए,अफगानिस्तान ए र ओमान समूह ए मा छन् । यसअघि टोलीमा समावेश गरिएका आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि उनको ठाउँमा पवन सर्राफलाई टिममा राखिएको छ । टिममा देव खनाल, श्याम ढकाल, सूर्य तामाङ र सन्दीप जोराले स्थान बनाएका छन् ।
रोहितकुमार पौडेल कप्तान रहेको टिममा कुशल भुर्तेल, आसिफ शेख, अर्जुन साउद, कुशल मल्ल, गुल्सन झा,सोमपाल कामी,भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी र किशोर महतो छन् । सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी ग्लोबल टी–२० लिग खेल्न क्यानडा जाने भएकाले टिममा छैनन् । यस्तै,ज्ञानेन्द्र मल्ल र करण केसी पनि टिममा छैनन् ।
प्रतिक्रिया दिनुहोस्