२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


संसद सुचारु गराउन प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्छ : अध्यक्ष तिमिल्सिना


117
Shares

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अवरुद्ध संसद सूचारु गराउनका लागि प्रधानमन्त्री पुष्पकमल दाहालले नै अग्रसरता लिनुपर्ने बताउनुभएको छ ।

सोमबार अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर सदन अवरुद्ध भएकाले सञ्चालनका लागि प्रधानमन्त्रीले नै अग्रसरता लिनुपर्ने धारणा राख्नुभएको हो ।

अध्यक्ष तिमिल्सिनाले राजनीतिक विषय भएको हुनाले समस्या समाधानका लागि सरकार र प्रतिपक्षलाई संवादमा जान पनि आफूले निर्देशन दिईरहेको पनि स्मरण गराउनुभयो । संसद गतिरोधका सम्बन्धमा देखिएको समस्याको समाधान सदनभित्रबाट गर्न नसकिने पनि उहाँले उल्लेख गर्नुभयो ।

अध्यक्ष तिमिल्सिनाले प्रधानमन्त्रीले अमूर्त ढंगले नभई समाधानमुखी रुपमा प्रस्तुत हुनुपर्नेमा जोड दिनुभयो । सदनमा प्रतिपक्षीले माग गर्ने र सरकारले त्यसको उचित सम्बोधन गर्ने पद्धति रहेकाले अध्यक्षको हैसियतले आफूले दुवै पक्षलाई यो वा त्यो गलत भन्ने अवस्था नरहेकाले संवाद गर्न सुझाएको पनि उहाँले बताउनुभयो ।

अध्यक्ष तिमिल्सिनाले संसदमा सरकार र राजनीतिक दलहरुलाई उत्तरदायी बनाउने आफूले प्रयास गरिरहेको पनि बताउनुभयो । उहाँले आर्थिक विधेयकलाई पारित गराएर अघि बढन पनि संसद सूचारु गराउने विषयमा सरकार र दलहरु गम्भिर बन्नुपर्ने स्पष्ट पार्नुभयो ।

गत असार १८ गते भारतीय नागरिक प्रितम सिंहबारे दिएको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेले प्रधानमन्त्री दाहालको राजीनामा माग गरेपछि संसद बैठक अवरुद्ध हुँदै आएको छ ।