
काठमाडौं । नेकपा (एमाले) संसदको अवरोध अन्त्य गर्न तयार भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार भएको भेटवार्तापछि एमाले संसदको अवरोध खुलाउन तयार भएको हो ।
तीन नेताको छलफलपछि बसेको एमाले संसदीय दलको बैठकले संसदमा प्रधानमन्त्रीको स्पष्टीकरण सुन्ने र संसदको अवरोध हटाउने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो ।
एमाले संसदीय दलको बैठकमा ओलीले तीन नेताबीच भएको छलफलबारे जानकारी गराउनुभएको थियो । प्रमुख सचेतक गिरीका अनुसार ओलीले संसदमा सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफ्नो अभिव्यक्तिका विषयमा आत्मालोचना गर्ने र त्यसपछि प्रधानमन्त्रीको सचिवालयबाट सार्वजनिक वक्तव्यप्रति दुख व्यक्त गर्ने जानकारी गराउनुभएको थियो ।
यही असार १८ गते आयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन धेरै पटक दिल्ली गएको भन्ने अभिव्यक्ति दिनुभएको थियो । दाहालको अभिव्यक्तिपछि एमालेले राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस्