
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बाँकेको कोहलपुर नगरपालिकालाई हरित सहरका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
राष्ट्रपति चुरे (तराई मधेस संरक्षण समितिअन्तर्गत बाँकेको कोहलपुरस्थित कोहलपुर) नेपालगञ्ज सडकको साझा चोकदेखि हाई स्कुल चोकसम्म सोमबार आयोजना गरिएको वृक्षरोपण कार्यक्रममा सहभागी मुख्यमन्त्री चौधरीले सो प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
मुख्यमन्त्री चौधरीले सिमेन्ट र सरियाको सहरभन्दा पनि कोहलपुरलाई हरियाली सहरका रुपमा चिनाउनुपर्ने बताउनुभयो । “अहिले सिमेन्ट र सरियाले सहरको हरियाली उजाडिएको छ”, उहाँले भन्नुभयो, “कोहलपुर नगरपालिकाले हरित नगरका लागि थालेको अभियानमा प्रदेश सरकारको पूर्णसाथ छ । कोहलपुर प्रदेशको हरियाली नमूना सहर बन्नुपर्छ ।”
उहाँले नगरवासीलाई बोटबिरुवा रोप्नुमात्र ठूलो कुरा नहुने बताउँदै संरक्षण महत्त्वपूर्ण कुरा भएको बताउनुभयो । मुख्यमन्त्री चौधरीले घरघरमा रोप्ने बिरुवा र सडक सडकमा रोप्ने बिरुवाको पहिचान गरेरमात्र वृक्षरोपण गर्न पनि सुझाव दिनुभयो । बिरुवा संरक्षणमा स्थानीयवासीको चासो बढाउनका लागि जनताले रुचाएका बिरुवा रोप्न नगरप्रमुखलाई उहाँले सुझावसमेत दिनुभयो ।
कोहलपुर नगरपालिका नगरप्रमुख पूर्णप्रसाद आचार्यले कोहलपुरलाई हरित सहर बनाउने अभियानमा स्थानीय सरकार लागिपरेकाले सबैको सहयोग र सहकार्य आवश्यक रहेको बताउनुभयो । नगरप्रमुख आचार्यले माटोको ल्याब परीक्षण गरेर माटो सुहाउँदो बिरुवा रोपिएको जानकारी दिनुभयो । बाह्रै महिना हरियाली हुने बोटबिरुवा रोपिएको जानकारी दिँदै उनले नगरलाई हरित नगर बनाउने अभियानमा हातेमालो गर्न उहाँले नगरवासीलाई आह्वानसमेत गर्नुयभो ।
कोहलपुर नगरपालिकाको तीन लाख २५ हजार, राष्ट्रपति चुरे–तराई मधेस संरक्षण समिति कार्यक्रम कार्यान्वयन इकाइ कैलालीको ३३ लाख ४८ हजार र त्यसमा १० प्रतिशत जनश्रमदानमा बिरुवा रोपिएको उपभोक्ता समितिका अध्यक्ष रामु लम्सालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्