८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


एकै दिन ४१ अर्ब भुक्तानी

असारमा मात्रै १ खर्ब ६० अर्ब भुक्तानी

6.136k
Shares

काठमाडौं । सामान्य दिनमा ३–४ अर्ब रुपैयाँ मात्र भुक्तानी दिने गरेको सरकारले आइतबार भने एकै दिन ४१ अर्ब ६८ करोड ३९ लाख रुपैयाँ भुक्तानी दिएको छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ मा आर्थिक वर्ष सकिन सात दिनअगावै सबै भुक्तानी गरिसकेर खाता बन्द गरिसक्नुपर्ने व्यवस्था भएकाले आइतबार हतारहतारमा त्यति रकम भुक्तानी दिइएको हो ।

आर्थिक वर्षको अन्त्यमा बिल भौचर पनि नहेरिकन आपसी मिलेमतोमा पछि मिलान गर्नेगरी हतारहतारमा भुक्तानी गरी अनियमितता र बदमासी हुने गरेको आलोचना हुँदै आए तापनि यस वर्ष पनि वर्षान्तमा अस्वाभाविक भुक्तानी दिइएको हो ।

कतिपय आयोजनामा ठेकेदारसँग मिलेमतोमा हिसाब मिलान गर्न अन्तिम दिनतिर मात्र भुक्तानी दिने आरोप लाग्दै आएको छ ।आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन तथा नियमावलीको पालनामा सरकार र मातहतका निकायलाई विगतदेखि नै नजरअन्दाज गर्दै आएको छ ।

आर्थिक कार्यविधि वित्तीय उत्तरदायित्व ऐन २०७६ तथा नियमावलीले आर्थिक वर्षको अन्तिम साता बजेट भुक्तानी दिन नहुने उल्लेख गरिएको छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।