३० चैत्र २०८१, शनिबार | Sat Apr 12 2025


कोशीको मुख्यमन्त्री नियुक्तिविरुद्ध दायर भएको रिट निवेदन न्यायाधीश श्रेष्ठको इजलासमा


4.173k
Shares

काठमाडौं । कोशी प्रदेशमा उद्धव थापालाई अवैधानिक रुपमा मुख्यमन्त्री नियुक्ति गरिएको भन्दै उत्प्रेषणमार्फत खारेजीको मागदाबी सहित दायर गरेको रिट निवेदनमाथि सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासमा पेसी तोकिएको छ ।

आइतबार र सोमबार पेसी तोकिए पनि उक्त रिट निवेदन ‘हेर्न नभ्याइने’ भन्दै सुनुवाइ हुन नसकेको हो ।

कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीले गत शुक्रबार वारेसमार्फत सर्वोच्चमा रिट निवेदन दर्ता गराउनुभएको थियो । नेकपा एमालेका तर्फबाट कोशी प्रदेशमा संसदीय दलका नेतासमेत रहनुभएका कार्कीले नवनिर्वाचित मुख्यमन्त्री,प्रदेश प्रमुख पर्शुराम खापुङ र सभामुख बाबुराम गौतमलाई रिट निवेदनमा विपक्षी बनाउनुभएको छ ।

कार्कीले संविधानको धारा १६८ (२) बमोजिम सरकार गठन गर्दा सभामुखलाई समेत समावेश गरिनु संविधान विपरीतको कार्य भएको दाबी गर्नुभएको छ । असंवैधानिक रूपमा नियुक्त भएका मुख्यमन्त्रीको नियुक्ति बदर गरी धारा १६८ को उपधारा ३ बमोजिम प्रदेशसभामा सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा आफूलाई मुख्यमन्त्री नियुक्तिको लागि कार्कीले परमादेश माग गर्नुभएको छ ।