
सुशील गैर
कपिलवस्तु । आज भोलि गाउँघरमा हलगोरु देखिन छाडेका छन् । प्रविधिको बढ्दो प्रयोगसँगै गाउँघरमा गोरु पाल्नै छाडिएको छ । घण्टौ लाग्ने काम प्रविधिको प्रयोगले मिनेटमै हुने हुँदा कपिलवस्तुका कृषकको आकर्षण आधुनिक प्रविधिमा बढेको छ ।
प्रविधिको बढ्दो प्रयोगँंगै परम्परागत शैली हराउन थालेको छ । असार लागे लगतै खेतैभरि हल गोरुले जोत्ने कृषक अहिले देखिन छाडेका छन् । गाउँका प्रत्येक घरमा २/३ हल गोरु हुने गोठ अहिले रित्तै छन् ।
खेत जोत्न गोरुको प्रयोग गर्न छाडेको वर्षौ भइसक्यो, अहिले ट्याक्टरको प्रयोग गर्ने गरिएको छ । महिनौ लगाएर खेत जोत्ने र रोपाइँ गर्ने कृषकले अहिले एक सातामै सक्ने गरेका छन् । पहिलेपहिले गोरुले खेत जोत्ने गरेको तर, अहिले भने ट्याक्टरबाट खेत जोत्ने गरेको कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १ भेलाइका साधुराम थारु बताउनु हुन्छ ।
विगतका वर्षमा जस्तो असार लागेपछि खेत जोत्ने चटारो अहिले कृषकमा छैन । हलगोरुको ठाउँमा विभिन्न मेशिनरी प्रविधि आएपछि असार लागेपनि पछिल्ला वर्षहरुमा जस्तो चटारो हुन छाडेको छ । युवा जनशक्ति अध्ययन, रोजगारी, विभिन्न पेशा–व्यवसाय तथा विविध कामका शिलशिलामा गाउँदेखि बाहिर शहर, बजार तथा विदेशमा हुँदा मानवीय श्रम साधन अभाव भइरहेको अवस्थामा प्रविधिले टेवा पुगेको कृषक प्रमिला थारुले बताउनुभयो ।
परम्परागत तवरले गोरुका माध्यमबाट रोपिने धान अहिले कृषि यान्त्रिकीकरणको सहायताबाट रोपिन थालिएपछि कृषकले गोरु पाल्न छाडेका छन् । आकाशबाट पानी परेको मौका छोपेर धान रोप्नुपर्ने भएकाले एक दशकयता गोरुले खेत जोत्न छाडेको कृषक मित्रलाल घिमिरे बताउनुहुन्छ ।
अहिले गाउँमा धेरैजसो कृषि यन्त्रको प्रयोग गरेर खेतीपाती गर्ने गरिएको छ । प्रविधिको प्रयोगले समयको बचतसँगै उत्पादन पनि बढ्ने गरेको कृषक बताउँछन् ।
साथसाथै प्रविधिले परम्परागत शैलीलाई विस्थापित गरेको छ भने ज्यालादारीमा काम गरेर जीवन गुजारा गर्ने मजदुर विस्थापित हुन पुगेका छन् ।
प्रतिक्रिया दिनुहोस्