१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


यस वर्ष ६४६ आरोही सगरमाथामा पुगे


130
Shares

काठमाडौं । यस वर्षको बसन्तकालीन सिजनमा पथ प्रदर्शकसहित ६ सय ४४ आरोहीले सर्वोच्च शिखर सगरमाथाको शिखरमा पुगेका छन् ।

चुचुरोमा पुग्नेहरू १३ नेपालीसहित २८७ आरोही र तीन सय ५९ पथप्रदर्शक रहेको पर्यटन विभागले जनाएको छ । एउटै सिजनमा यति धेरै आरोहीहरू सगरमाथा चुचुरोमा पुगेको इतिहासमै पहिलो पटक हो  । सन् १९५३ मे २९ मा तेन्जिङ नोर्गे शेर्पा र एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको आरोहण गरेका थिए  । सगरमाथा आरोहण गर्ने कुल आरोहीमध्येमा महिलाको संख्या ६१ रहेको छ  ।

आरोहीलाई चुचुरोसम्म पु¥याउने ३५९ पथप्रदर्शक सबै पुरुष रहेका छन् । छिटपुट रूपमा केही गाइडहरू सम्पर्कमा नआएर सूचीमा छुटेको पनि हुन सक्ने विभागको भनाइ छ । यस सिजनका लागि ३७६ देशका ४७८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका थिए । यसअघि सन् २०१३ मा शरद् र वसन्त सिजनमा २४२ आरोही र ३३६ गाइड गरी ४६१ जना सगरमाथा चुचुरोमा पुगेका थिए ।

सन् २०१८ मा २६२ आरोही र २९८ गाइड गरी ५६०, सन् २०१९ मा २८० आरोही र ३६४ गाइड गरी ६४४ जनाले शिखर चुमेका थिए । भूकम्पका कारण सन् २०१५ र कोभिड महामारीका कारण सन् २०२० मा सगरमाथा आरोहण नै खुलेन  ।

सन् २०२१ मा १८३ आरोही र २७६ गाइड गरी ४५९ ले सगरमाथा शिखरमा पुगेका थिए । यस वर्षको वसन्तकालीन सिजनमा सगरमाथासहित विभिन्न १० वटा हिमालको सफल आरोहण भएको छ  ।

१० हिमालको शिखर चुम्नेमा १३ महिलासहित ४७० (आरोही र गाइड) जना रहेका छन् । कुल आरोहीमध्येमा आरोहीको संख्या ४७० र गाइडको संख्या ५१३ रहेको छ । हिमाल आरोहण गर्नेमा अधिकांश विदेशी (गाइडबाहेक) नागरिक रहेका छन्  ।

कञ्चनजंघामा आरोहीलाई शिखर पुर्‍याउनेमा एकजना महिला पथप्रदर्शक रहेको विभागले जनाएको छ । वसन्त सिजनमा लोत्से हिमालमा ५२ आरोही पुगेका छन् । मकालुमा आरोही र गाइड गरी ७२, कञ्चनजंघामा २९, धौलागिरिमा २१, आमादब्लममा ४४, अन्नपूर्ण फस्ट ७५, हिमलुङ ४१, मनास्लु १ र पुमोरी हिमाल दुईजनाले आरोहण गरेका छन् ।