
ललितपुर । शहरी विकासमन्त्री सीता गुरुङले काठमाडौं उपत्यकालाई व्यवस्थित बनाउन सरकारले काठमाडौं उपत्यका गुरु योजना बनाइरहेको बताउनुभएको छ ।
सोमवार जिल्ला समन्वय समिति ललितपुरको सातौं जिल्ला सभामा बोल्दै मन्त्री गुरुङले यस्तो बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यका घरै–घरको मात्रै शहर भएको बताउनु भयो। उहाँले राज्यको स्पष्ट शहरको स्वरुप बनाउने नीति बनाएर कार्यान्वयन हुन नसक्दा काठमाडौ उपत्यकामा घरै मात्रै भएको बताउनु भयो।
मन्त्री गुरुङले काठमाडौं उपत्यकामा ठूलो शहर नभएको,गाडी पार्किङ गर्ने ठाउँ अभाव, खानेपानी,साना–साना पार्क र फुटपाथकेही पनि नभएर धेरै घरहरु भएको शहरका रुपमा स्थापित भएको बताउनु भयो। उहाँले यसरी बनेका घरहरु राज्यले शहर व्यवस्थित बनाउने भनेर मात्रै पनि भत्काउन सक्ने अवस्था नभएको बताउनु भयो । उहाँले सरकारले बनाएको गुरु योजनाले सहरलाई थप व्यवस्थित र भएका बेथिति हटाउन सकिने बताउनु भयो।
उहाँले काठमाडौं उपत्यकाबाट बग्ने वागमती नदी र त्यसका साहयक नदीहरुको सरसफाई र त्योसँग जोडिएका मठ मन्दिर पुरातात्विक सांस्कृतिक वस्तुहरुलाई संरक्षण गरी पर्यटन विकास गर्नेगरी सरकार लागि रहेको बताउनु भयो। उहाँले काठमाडौं उपत्यकालाई स्वच्छ र सफा शहर बनाउने कार्यको थालनी पनि गरेको बताउनु भयो । उहाँले शहर व्यवस्थित बनाउनका निम्ति मुख्य गरी अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउनुपर्ने बताउनु भयो । उहाँले सरकारलाई अव्यवस्थित र सुकुम्वासी बस्ति हटाउन धेरै गाह्रो भएको बताउनु भयो ।
उहाँले खोला किनारका अव्यवस्थित र सुकुम्वासी स्थानीय सरकार,जिल्ला समन्वय र सांसदहरुको सहयोग आवश्यक पर्ने बताउनु भयो। उहाँले शहरको फोहोरमैला व्यवस्थापन स्थानीय सरकारको मातहत रहेको भन्दै शहरहरुमा अहिले जटिल समस्या भनेको फोहोरमैला व्यवस्थापन भएको बताउनु भयो। उहाँले काठमाडौं महानगर र शहरी विकास मन्त्रालयले फोहोर उठाएन भनेर दीर्घकालिन समाधान दिन नसकिने भन्दै स्थानीय सरकार नै फोहोर व्यवस्थापनमा लाग्नुपर्ने बताउनु भयो । उहाँले ललितपुर जिल्ला भित्रका स्थानीय तहहरुले छुट्टै आफ्नै फोहोर व्यवस्थापन गर्न सक्नुपर्ने बताउनु भयो।
प्रतिक्रिया दिनुहोस्