१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


सर्पको डसाइबाट दाजुभाइको मृत्यु


3.757k
Shares

कपिलवस्तु । कपिलवस्तुमा सर्पको डसाइबाट दुई जनाको मृत्यु भएको छ ।

गय राति घरमा सुतिरहेको बेला विषालु सर्पको डसाइबाट बुद्धभूमि नगरपालिका–१ का दुई दाजुभाइको मृत्यु भएको होे ।

निधन हुनेमा ९ वर्षीय प्रदीप भुसाल र १२ वर्षीय दीपक भुसाल रहेको गोरुसिङ्गे इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिनुभयो । दुवै जना आफ्नो हजुरआमासँग एकतले घरको भुइँमा सुतेका थिए ।

बिहान दुई दाजुभाइ बेहोस अवस्थामा भेटिएपछि लगत्तै स्थानीय अस्पतालमा पुर्‍याइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदै गर्दा एक जनाको बाटोमा र अर्काको उपचारका क्रममा निधन भएको प्रहरी निरीक्षक शाहीले जानकारी दिनुभयो ।

नातिसँग सुतेकी ६० वर्षीया हजुरआमा बसन्ता भुसाललाई पनि सर्पले डसेको हुन सक्ने भन्दै सोही अस्पतालमा उपचारका लागि पठाइएको सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिनुभयो । मृतक दाजुभाइकी आमा वैदेशिक रोजगारको सिलसिलामा विदेश रहेको प्रहरीले जनाएको छ ।