
काठमाडौं । सीता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को जीवनसंगिनी मात्रै नभएर प्रचण्डलाई प्रचण्ड बनाउन पनि उनको ठूलो भूमिका रहेको छ । चाहे सशस्त्र ‘जनयुद्ध’का बेला होस्, चाहे शान्तिपूर्ण राजनीतिमा, उनले प्रचण्डलाई आफूले जानेको सल्लाह र सुझाव दिइरहिन् ।
१५ वर्षकै उमेरमा प्रचण्डलसँग वैवाहिक जीवनमा बाँधिएकी सीता २०२८ सालदेखि नै कम्युनिस्ट आन्दोलनमा आबद्ध भएकी थिइन् । उनी जिल्ला, क्षेत्र र केन्द्रका विभिन्न जिम्मेवारीमा रहँदै पछिल्ला दिनमा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार थिइन् ।
मूल्यांकन मासिकका लागि राजेन्द्र महर्जन, चन्द्र खाकी र चन्द्रलाल गिरीसँग उनले केही वर्षअघि आफ्नो विवाह, पारिवारिक जिन्दगी, राजनीतिमा प्रवेश, सशस्त्र जनयुद्धका पल र शान्ति प्रक्रियामा आएपछिको जीवनबारे खुलेर बोलेकी थिइन् । यो अन्तर्वार्तापछि ‘जनयुद्धका नायक’ पुस्तकमा समेत प्रकाशित गरिएको थियो ।
सो अन्तर्वार्तामा उनले आफ्नो विवाहबारे भनेकी छन्, ‘त्यो बेला गाउँघरमा छिट्टै विवाह गर्ने चलन थियो । विवाहभन्दा पहिला हाम्रो चिनजान थिएन । पहाडमा हाम्रो घर एक्लै ठाउँमा जस्तो रहेछ । उहाँको कास्कीको ढिकुर पोखरी र मेरो हेङ्जामा घर थियो । हिँडेर जाँदा १ घण्टा लाग्छ होला । उहाँका र मेरा बुबा एउटै सालमा पहाडबाट झर्नुभएको रहेछ । हाम्रो चितवनकै सुन्दरबस्ती गाउँ र उहाँको भिमसेननगर भन्ने ठाउँमा बसाइँ सर्नुभएको हो । त्यहाँ पनि हिँडेर आउनजान २० मिनेट समय लाग्छ ।
हाम्रो केही नाता पनि पर्छ, मावलीपट्टि वा कताबाट अलिकति सम्बन्ध थियो । तर, पहिला नै हाम्रो चिनजान त थिएन । मलाई माग्न त धेरै ठाउँबाट आएका थिए । तर, मेरो मामाले उहाँसँग नै विवाह गरिदिनुपर्छ भनेर जोड गरेपछि हाम्रो विवाह भएको हो । विवाहको कुरा चलिसकेपछि कहिलेकाहीँ बाटोमा हाम्रो भेट हुन्थ्यो । मेरो केटा यही हो भन्ने हुन्थ्यो तर, बोलचाल भने हुँदैनथ्यो । वास्तवमा हाम्रो विवाह भएको लामो समयपछि मात्रै बोलचाल भयो । उहाँ पनि केटाकेटीमा लाज मान्ने, म पनि झन् महिला ।’
यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।
प्रतिक्रिया दिनुहोस्