
काठमाडौं । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले राजदुत नियुक्ति प्रक्रिया छिट्टै टुंगिने बताउनुभएको छ ।
बिहीबार राष्ट्रिय सभाको बैठकमा बोल्दै मन्त्री साउदले हाल स्थायी नियोग, न्युयोर्क तथा जेनेभा, क्यानडा, फ्रान्स, थाइल्याण्ड, युएई र कुवेतगरी ७ स्थानमा राजदुत पद रिक्त रहेको बताउनुभयो । उहाँले राजदुत नियुक्तिको सम्बन्धमा उच्च तहमा छलफल भइरहेको बताउनुभयो । राजदुत नियुक्ति ५० प्रतिशत परराष्ट्र भित्रबाट र ५० प्रतिशत परराष्ट्र बाहिरबाट गरिने भन्दै उहाँले नियुक्ति प्रक्रिया तत्काल टुंगिने बताउनुभयो ।
मन्त्री साउदले विदेशमा अप्ठ्यारोमा परेका नेपालीहरुको उद्दारका लागि र सहजीकरण गर्ने कामलाई नियोगहरुले उच्च प्राथमिकता राखेका बताउनुभयो । विदेशमा रहेका नेपालीहरुको हक, हीतको सुरक्षा गर्न र आवश्यक सहयोग उपलब्ध गराउन विदेशस्थित नेपाली नियोगहरुको भुमिकालाई थप प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।
मन्त्री साउदले नियोगहरुलाई साधन, स्रोत सम्पन्न बनाउँदै लगिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्