१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


रानी ऐश्वर्यको निजी बगैंचा सर्वसाधारणका लागि खुला


6.994k
Shares

गृष्मा राजभण्डारी र दिपक श्रेष्ठ

काठमाडौं । नारायणहिटी दरबार संग्रहालय हातामा रहेको रानी ऐश्वर्यको निजी बगैंचा अन्तत: आगन्तुकका लागि खुला गरिएको छ । चार रोपनी क्षेत्रफलमा फैलिएको बगैंचा राजसंस्था रहुन्जेल निजी बगैंचाको रुपमा रानी ऐश्वर्यले प्रयोग गर्दै आउनुभएको थियो । बगैंचा खुला भएसँगै नारायणहिटी दरबार संग्रहालय अवलोकनकर्ताका लागि एउटा अर्को गन्तव्य थपिएको छ ।

राज संस्थाको अन्त्यसँगै झाडीमा परिणत यस ठाउँको सरसफाई गरी आमनागरिकको अवलोकनका लागि खुला गरिएको छ । यो बगैंचाको विशेषता भनेको बीच भागमा पञ्चपल्लभ समूह अन्तर्गतका बृक्ष हुन् । जसमा बर, पिपल, आँप, चाप, र अमलाका रुख रहेका छन् ।

धार्मिक पवित्रता र चोखो हिसाबले महत्वपूर्ण मानिने यी बृक्ष रानी ऐश्वर्यकै सक्रियतामा हुर्काइ बढाई गरिएका थिए । यहाँ रहेको छहराको पानी बग्दा ऐना आकार देखिने गरी निर्माण गरिएको भएपनि वषौंसम्म अलपत्र पर्दा त्यो आकर्षण भने देख्न पाइँदैन । यहाँ रोपिने गरेको गुलाफको फूलको बासना धेरै टाढासम्म महसूस गर्न सकिन्थ्यो, जुन बेलायतबाट कलमी गरी ल्याएर रोपिएका हुन्थे । हाल ती फूलको नामो निशान नभएपनि केही नयाँ प्रजातिका फूल रोपिएका छन् ।

बगैंचा वरिपरि रहेका दशकौं पुराना वनस्पतिको आफनै पहिचान छ । दरबारभित्रका धेरै सम्पदा नष्ट भएपनि थरिथरिका रुखले भने राजसंस्थाको इतिहासलाई जीवित गराएको भान हुन्छ । विश्वमा शान्ति छाओस भन्ने लेखिएको सन्देशले देशमा मात्र नभई विश्व स्तरमै बसुधैव कुटम्बकमको सन्देशलाई सर्वत्र प्रवाहित गरेको बुझ्न सकिन्छ ।

यससँगै संग्रहालय अवलोकन गर्न आउनेले अब राजा वीरेन्द्र र दीपेन्द्रलगायत राजपरिवार सदस्यले प्रयोग गर्ने गरेको निजी विमान र हेलिकप्टर पनि हेर्न पाउने छन् । राजसंस्थाको बहिर्गमनका बेला नेपाली सेना मातहतमा रहेको विमान र हेलिकप्टर सेनाले नारायणहिटी संग्रहालयलाई हस्तान्तरण गरेपछि सुनमा सुगन्ध थपिएको हो । राजपरिवारको सामूहिक हत्या भएको स्थल भएर मात्र होइन, मुलुक राजतन्त्रबाट गणतान्त्रिक शासन व्यवस्थामा जाँदाको एउटा सिंगो भौतिक दस्तावेज भएका कारण पनि यो ठाउँलाई जीवन्त बनाउन आवश्यक छ ।