
राजेश जिसी
प्यूठान । प्यूठानका किसानहरुले रोपाइँ सकेको एक महिना नहुँदै धानमा रोगको प्रकोप देखिएको छ ।
प्युठानकै अन्न भण्डारको रुपमा चिनिएको झिमरुक फाँटमा लगाएको धान बालीमा रोगको प्रकोप देखिएको हो । धानमा रोगको प्रकोप देखिएपछि किसान चिन्तीत भएका छन् ।
प्यूठान नगरपालिका ९ का लक्ष्मण केसीले ५ रोपनी क्षेत्रफलमा धान खेती गरेका छन् तर, यस वर्ष उनको धान बालीमा रोग देखिएको छ । धानको जरामा रातो गड्यौला,पातमा पहेला धब्बा तथा बोट सुक्ने समस्या देखिएको छ । उनले रोग नियन्त्रणका लागी धेरै प्रयास गरेपनि रोग नियन्त्रण नहुदाँ चिन्तीत बनेका छन् ।
त्यस्तै, सोहि ठाउँकी राधीका पोख्रेलको धान बाली पनि उस्तै छ । रोपाइँ गरेको एक महिना नहुदै बोट कुहिने, पात सुक्दै जाने जस्ता रोग देखिएपछि अब के गर्ने भन्ने चिन्तामा उनी छिन् । उनले लगाएको ४ रोपनीमध्ये २ रोपनी क्षेत्रफलमा लगाएको धान बालीमा रोग लागेको हो । उनीहरुमात्र होइन प्यूठानका अधिकांस किसानको धान बालीमा रोगको प्रकोप देखिएको छ । धानमा रोग देखिएपछि किसानहरु के खाने भन्ने चिन्तीमा परेका छन् ।

प्यूठानको झिमरुक फाँटमा गत वर्ष जस्तै यस बर्षपनि धान बालीमा रोग फैलिएको छ । बोट कुहिने, पात सुक्दै जाने जरामा रातो गड्यौला,पातमा पहेला धब्बा तथा बोट सुक्ने समस्या यस वर्ष पनि देखिएको हो । फाँटको झण्डै ५ सय रोपनीमा लगाइएको धानमा रोग देखिएको छ । धान बालीमा लागेको रोग पहिचान गर्न नसकेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना धान जोनले जनाएको छ ।
धान बालीमा रोग देखिदा एकातिर किसान चिन्तीत भएका छन भने अर्काे तर्फ रोग पहिचान नहुदाँ रोग नियन्त्रण गर्न सकिएको छैन । धानमा लागेको रोग समयमै पहिचान गरी नियन्त्रण गर्न नसके धान उत्पादमा कमी आउने पक्का छ ।
प्रतिक्रिया दिनुहोस्