
काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पुराना पार्टीहरुले केही गरेनन् भनेर नयाँ आएका पार्टीहरु टिक्न नसक्ने टिप्पणी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले यिनीहरुले केही गर्दैनन् भनेर आएका नयाँ पार्टीहरु धेरै समय नटिक्ने दाबी गर्नुभयो । उहाँले दुःखमा, सुखमा १० औं वर्ष जेल, प्रवासन, पुलिसको लाठि डन्डा सहेर पुराना पार्टीहरु निर्माण भएको भन्दै यस्तै समस्या नयाँ प्रवृत्तिहरुले भोग्नुपर्यो भने कति टिक्छन् हेरौँला भन्दै प्रश्न गर्नुभयो ।
अर्थमन्त्री महतले पार्टीका महामन्त्रीहरुप्रति लक्षित गर्दै पार्टी र पार्टीका नेताको आलोचना पार्टीको केन्द्रिय समितिमा गर्न चुनौति दिनुभयो । उहाँले सामाजिक सञ्जालमा पार्टीको आलोचना गरेर पार्टी निर्माण हुन नसक्ने दाबी गर्नुभयो । उहाँले पार्टीप्रतिको आलोचनाका कारण जनताहरु के हो कांग्रेस भनेको भन्ने स्थितिमा पुगिसकेको बताउनु भयो ।
अर्थमन्त्री महतले पार्टीका नेताहरुको आलोचना सामाजिक सञ्जालमा नगर्न आग्रह गर्नुभयो । मन्त्री महतले सरकार सशुासन, आर्थिक परिवर्तन, रुपान्तरणको पक्षमा रहेको बताउनुभयो । उहाँले आर्थिक रुपान्तरण, विकासको लागि अफ्ठ्यारो समयमा अफ्ठ्यारो निर्णय पनि लिनसक्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्