१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


काठमाडौं महानगरले बजार अनुगमनलाई नियमित गर्ने


663
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले बजारलाई थप व्यवस्थापन गर्नका लागि नियमितरूपमा अनुगमन गर्ने भएको छ ।

आफ्नो क्षेत्राधिकारभित्रको अनुगमन र मूल्यांकनको पद्धतिमा वार्षिक कार्ययोजना तयार गरि अनुगमन कार्यलाई नियमित गर्ने कामपाका उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

सेवा प्रवाह, विकास निर्माण र जनजीविकासँग सम्बन्धित कामको प्रभावकारी कार्यान्वयन र नतिजा मापनका लागि अनुगमन कार्यलाई नियमित गर्नेमा उपप्रमुख डङ्गोलले जोड दिनुभयो ।

कामपाले अनुगमन मूल्यांकन प्रणालीमार्फत नीति, योजना, कार्यक्रम र आयोजनाको निगरानीका लागि क्षमता बढाउनुपर्ने पनि उपप्रमुख डङ्गोलले बताउनुभयो ।

स्थानीय तहमा उपप्रमुखको संयोजकत्वमा उपभोक्ता अधिकार तथा बजार व्यवस्था अनुगमन समितिको व्यवस्था गरिएको छ । कार्यपालिकाअन्तर्गतका विषयगत समितिले गरेका काम, स्वीकृत वार्षिक कार्यक्रमको अनुगमन उपप्रमुखको संयोजकत्वमा रहेको समितिले गर्छ ।

उपप्रमुखको संयोजकत्वमा रहेको बजेट तथा कार्यक्रम तर्जुमा समितिले पेश गरेर नगरसभाबाट पारित भएका कार्यक्रमको अनुगमन उपप्रमुखकै संयोजकत्वमा रहेको अनुगमन तथा सुपरीवेक्षण समितिले गर्छ । सुपरीवेक्षण समितिका कामको समन्वय एकाइले गर्छ । यस समिति मातहतमा जनजीविका र सार्वजनिक सरोकारका क्षेत्रको अनुगमन गर्न पाँच वटा अनुगमन टोली गठन गरिएका छन् ।

कामपाले आगामी आवका लागि व्यक्तिगत तथा संस्थागत भान्छाका लागि स्वस्थकर बनाइ आरोग्ता कायम गर्न स्वच्छ भान्छा कार्यक्रमका लागि रु. तीन करोड ५० लाख रकम विनियोजन गरेको छ । केही दिनअघि पनि कामपाले गरेको अनुगमनका क्रममा अखाद्य सामग्री बिक्री वितरण गरेको भन्दै लाजिम्पाटको एक पसललाई रु. एक लाख ५० हजार जरिवाना तिराएको थियो ।

कामपा–२ स्थित लाजिम्पाटमा रहेको आकाश फुड्सले सडेगलेका ढुसी परेको मिठाइ तथा कीरा परेको अन्य खाद्य सामाग्री बिक्री वितरण गरेको पाएपछि निजलाई रु. एक लाख ५० हजार जरिवाना गरिएको थियो ।