१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्यूठानमा नर्सरी व्यवसाय फस्टाउँदो


2.249k
Shares

राजेश जीसी

प्यूठान । कृषिमा सम्भावना नदेखेर युवा विदेश पलायन भइरहेका बेला प्यूठानका केही युवाहरु कृषिबाट राम्रो आम्दानी गरिरहेका छन् । उनीहरुले विभिन्न प्रजातीका बिरुवा तथा फलफूलका नर्सरी स्थापना गरी आम्दानी गरिरहेका छन् ।

प्यूठानको गौमुखी गाउँपालिका– ६ लिबाङका २८ वर्षीय कृषक पदम केसी बिहानैदेखि नर्सरीमा रहेका विभिन्न प्रजातीका फलफुल तथा घाँसका विरुवाको रेखदेख तथा संरक्षणमा तल्लीन छन् । उनको दैनिकी यीनै फलफुल तथा घाँसका विरुवा रेखदेखमै बित्ने गरेको छ ।

उनले नर्सरीबाट उत्पादन गरेका फलफुलका साथै टिमुर तथा डाले घाँसका बेर्ना बिक्री गरेर मनग्य आम्दानी गरिरहेका छन् । यस वर्ष उनले नर्सरीबाट उत्पादन भएका विभिन्न प्रजातीका विरुवा तथा फलफुलका बेर्ना बिक्री गरेर ८ लाख रुपैयाँसम्म आम्दानी गरेका छन् ।

यस्तै, प्यूठान नगरपालिका– ८ खप्रेङ्गखोलाका ६२ वर्षीय गिर बहादुर थापाले पनि विभिन्न प्रजातीका घाँस तथा तरकारीका विरुवा बिक्री गरेर मनग्य आम्दानी गरेका छन् । उनले विगत १० वर्षदेखि डाले घासँको नर्सरी निर्माण गरेर वार्षिक ४ लाखसम्म आम्दानी गरेका छन् ।

रोजगारीको संभावना नदेखेर युवाहरु विदेश पलायन भैरहेका बेला कृषिबाटै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण दिन नर्सरी निर्माण गरी घाँस तथा तरकारीका विरुवाका उत्पादन गरेर बिक्री गर्न थालेको थापाले बताए ।

केसी र थापा त एक उदाहरण मात्रै हुन् । उनीहरु जस्तै प्यूठानका धेरै युवाहरु नर्सरीबाट विरुवा उत्पादन गरी लाखौं आम्दानी गरिरहेका छन् । प्यूठानमा निजी तथा सरकारी क्षेत्रका १० वटा नर्सरीबाट विभिन्न प्रजातीका फलफुल, घाँस, टिमुर, कफी लगायतका विरुवाहरु उत्पादन हुँदै आएको एकीकृत कृषि तथा पशुपन्छी कार्यालयका प्रमुख भाष्कर पौडेलले बताए ।

कृषिमा भविष्य नदेखेर दैनिक लाखौं युवाहरु विदेशिएका छन् । तर, नयाँ सोच, जोश–जाँगर र हिम्मत भए स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ । यसका लागि युवाहरु जागरुक हुन भने आवश्यक छ ।