
धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत निर्माण गर्दागर्दै भाँचिएको कमला नदीस्थित पुलको स्थलगत अनुगमन गर्नुभएको छ ।
मन्त्री ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीको भाँचिएको पुलको स्थलगत अनुगमन गर्नुभएको हो । सिरहा र धनुषा जोड्ने कमला नदीको पुल भाँचिएपछि त्यहाँका स्थानीयहरुले दुई वर्षदेखि सास्ती भोगिरहेका छन् । पुल भाँचिएसँगै पूर्वपश्चिम राजमार्ग भएर आवतजावत गर्नुपर्दा कम समयमा पुगिने ठाउँमा पनि धेरै समय लग्ने गरेको छ । मन्त्री ज्वालाले पुलको स्थलगत अनुगमन पश्चात् सरकार छिटै पुल निर्माण गरी स्थायी समाधान खोज्ने निस्कर्षमा पुगेको बताउनु भयो । उहाँले एक वर्षभित्र सुचारु हुने इन्जिनियरले बताएकाले एक वर्षभित्र पुल सञ्चालनमा ल्याउन सकिने अनुमान रहेको बताउनु भयो ।
उहाँले भाँचिएको पुल तत्काल निर्माणका लागि मन्त्रालयमा सम्बन्धित विभाग र प्राविधिकहरु समेत बसेर स्थायी समाधान छिटो भन्दा छिटो निकाल्ने योजनामा सरकार रहेको बताउनु भयो । उहाँले गुणस्तर पनि कायम हुने र छिटो छरितो काम हुनेगरी भाँचिएको हुलाकी राजमार्गको कमला नदीको पुल छिटो अगाडि बढाइने बताउनु भयो ।
स्थलगत अनुगमनमा सो क्षेत्रका स्थानीय बासीहरुले सरकारले हुलाकी राजमार्ग अन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुल निर्माण गरी तत्काल बाटो खोल्न माग गरेका थिए । स्थानीयहरुले ठेक्का पाएको कम्पनीले समयमानै काम नगरेकाले पुल निर्माणमा ढिलाई भएको भन्दै मन्त्रीलाई गुनासो समेत गरेका थिए । स्थानीयवासीको मन्त्री ज्वालाकै अगाडि निर्माण कम्पनीसँग चर्काचर्की भएको थियो । तर मन्त्रीले भाँचिएको पुलको स्थायी समाधान झगडाले नहुने भन्दै शान्त हुन आग्रह गर्नुभएको थियो ।
२०७८ असार १७ मा निर्माणको अन्तिम चरणमा कमला नदीको पुलको एउटा स्पाम भासिएको थियो । २०६८ सालमा ७० मिटर लम्बाई र ११ मिटर चौडाई कमला नदीको पुल २४ करोड ९१ लाखमा पुल निर्माण गर्ने पप्पु कन्सट्रक्शनल ठेक्का लिएको थियो । तर पछि यो निर्माण कम्पनी समयमा काम नगर्दा २०७६ असोज १ गते सम्झौता रद्द गरी ०६८ जेठ ३१ गते लुम्बिनी विल्डर्स कन्सट्रक्शनलाई जिम्मेवारी दिइएको थियो । यो निर्माण कम्पनीले अन्तिम काम गरिरहेको अवस्थामा अघिल्लो वर्षको सामान्य वर्षामै पुल भासिएको थियो ।
प्रतिक्रिया दिनुहोस्