
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय सचिवालय बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा पुष्पलाल स्मृति प्रतिष्ठानमा शुक्रबारदेखि सुरु भएको बैठकमा नेताहरूले धारणा राख्ने क्रम जारी रहेकाले मंगलबार बिहान ९ बजे पुनः बस्ने गरी बैठक स्थगित गरिएको केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिनुभयो ।
समसामयिक घटनाक्रम, सङ्गठन सुदृढीकरण अभियानको समीक्षा, वैचारिक नीतिमा छलफल केन्द्रित गरिएको बैठकमा सोमबार सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाल, उपमहासचिवद्वय डा. विजय पौडेल र डा. गङ्गालाल तुलाधरले आफ्ना धारणा राखेका थिए ।
पार्टी परित्याग गरी गएका केही नेताको पद रिक्त रहेकाले ती पदहरूमा कसलाई मनोनीत गर्ने विषयमा मंगलबार छलफल गरिने जनाइएको छ । पार्टीमा केही उपाध्यक्षसहितका पदाधिकारी तथा बागमती र लुम्बिनी प्रदेशमा इन्चार्ज पद रिक्त छन् ।
प्रतिक्रिया दिनुहोस्