
काठमाडौं । राष्ट्रिय भलिबल टिमको नयाँ कप्तान मानबहादुर श्रेष्ठ नियुक्त भएका छन् ।
नेपाल भलिबल संघको कार्यसमिति बैठकले त्रिभुवन आर्मी क्लबका स्पाइकर मान बहादुरलाई कप्तान नियुक्त गर्ने निर्णय गरेको हो ।
सन् २०१५ देखि नेपालको राष्ट्रिय टिममा खेल्दै आएका मानबहादुरले नेपालले खेलेको पाँच वटै सेन्ट्रल जोन भलिबल र काभा नेसन्स लिग खेलेका छन् । नेपालले २०१७ मा माल्दिभ्समा सेन्ट्रल जोनमा तेस्रो हुँदै कांस्य पदक जित्दा मानबहादुरले बेस्ट आउटसाइड सेकेण्ड अट्याकरको अवार्ड जितेका थिए ।
संघले हरि हजुर थापालाई राष्ट्रिय टिमको नेतृत्व गर्न नसकेको भन्दै कप्तानबाट बर्खास्त गरेपछि कप्तान पद खाली थियो । सातौं पीएम कप एनभीए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग भलिबल दौरान गण्डकीविरुद्धको खेलमा थापाले कप्तानको भूमिका राम्रोसँग निर्वाह गर्न नसकेको र कर्तव्यविमुख भएको भन्दै संघले हरिलाई कप्तानबाट हटाएको थियो ।
विभागीय टोली त्रिभुवन आर्मी क्लबका खेलाडी मानबहादुर पुरुष भलिबल टोलीको ११ औं कप्तान हुन् ।
प्रतिक्रिया दिनुहोस्