२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


चितवनका ७ हजार किसानले पाए प्रोत्साहन अनुदान


156
Shares

काठमाडौं । चितवन जिल्लामा चैतेधान खेती गरेका ६ हजार ९ सय ९३ कृषकले चैतेधान प्रोत्साहन अनुदान रकम प्राप्त गरेका छन् ।

सरकारले चैते धान लगाउने किसानलाई आकर्षित गर्न अनुदान रकम वितरण गरेको हो ।

बीस कट्ठासम्म धान लगाएका किसानले प्रतिकट्ठा रु. १ सयका दरले र सोभन्दा बढी धान लगाएका किसानले रु. ९५ का दरले अनुदान रकम प्राप्त गरेको कृषि ज्ञानकेन्द्रकी निमित्त प्रमुख कमला न्यौपानेले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रमका लागि जिल्लाका पाँच पालिकाका कृषकले आवेदन दिएका थिए ।

खैरहनी, राप्ती, रत्ननगर, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा चैते धान खेती गरेका कृषकले अनुदानस्वरुप रकम पाऊँ भनी निवेदन दिएका थिए । न्यौपानेका अनुसार ४ हजार २५ विगाह १५ कठ्ठामा चैतेधान खेती भएको निवेदन परेको थियो । निवेदनपश्चात् स्थलगत अनुगमन र प्रमाणीकरणपछि तीन हजार सात सय छ बिघा जमिनमा लगाइएको धान खेतीका लागि प्रोत्साहन रकम वितरण गरिएको हो ।

प्रोत्साहन कार्यक्रमका लागि सङ्घीय सरकारले रु. ७५ लाख विनियोजन गरेको थियो । कार्यक्रमअनुसार प्रतिकट्ठा रु. चार सय दिनुपर्नेमा कृषकको निवेदन धेरै परेसँगै सबैलाई मिलाएर प्रोत्साहन रकम दिने निर्णयअनुसार अनुदान रकम दिइएको हो । जिल्लामा सबैभन्दा धेरै खैरहनी नगरपालिकामा चैते धान खेती गरिँदै आइएको छ ।