९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


इन्भेस्टमेन्ट मेगा बैंकका नायब सीईओविरुद्ध महिलाको उजुरी


22.256k
Shares

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँग ६५ करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार गरिरहेका महिला व्यवसायी शान्ता बुढाथोकीले बैंकविरुद्ध राष्ट्रिय महिला आयोगको कार्यालयलगायतमा उजुरी दर्ता गरेकी छन् ।

ताकिन्जो इन्डस्ट्रिज प्रालि(डाइमी ट्रेडिङ प्रालि, हामीनिट इन्डस्ट्रिजलगायतका कम्पनीको सञ्चालक रहेकी बुढाथोकीले बैंकका नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालविरुद्ध अभद्र व्यवहारसमेतको उजुरी दिएकी हुन् ।

नायब सिइओ शर्मा ढकालले आफूलाई अन्याय गरेकाले पक्राउ गरी आवश्यक कारबाही गर्न बुढाथोकीले उजुरीमा माग गरेकी छन् । सो बैंकबाट करिब ६५ करोड रुपैयाँबराबरको कारोबार गर्दै आएको र नेपाल इन्भेस्टमेन्ट बैंकबाट पहिलोपटक ८ करोड ७८ लाख ९५ हजार रुपैयाँको सामान निर्यात गर्ने प्रयोजनका लागि र सोपश्चात् ४ करोड स्थिर सम्पत्तिमा खरिद लगानी गर्ने प्रयोजनार्थ ऋण स्वीकृत भएको बुढाथोकीले जानकारी दिइन् ।

सो ऋण स्वीकृत भएपश्चात् नेपाल इन्भेस्टमेन्ट बैंक र मेगा बैंक मर्जरको प्रक्रियामा रहेका कारणबाट कर्जा प्रवाह नभएको पनि उनले बताइन् । उल्लिखित दुवै बैंकहरू एक आपसमा मर्ज भएपश्चात् महेश शर्मा ढकाल नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत भएर आएपछि भेट गर्दा शर्माले सम्पर्कमा रहिरहन भनेको पनि उनले बताइन् ।

शर्माको विश्वासमा परी गत २९ चैतको दिउँसो २ बजेको समयमा निजको कार्यकक्षमा जाँदा कर्जा अब स्वीकृत हुँदै छ र त्यसका लागि मैले भनेको काम गर्नुपर्ने भनी अभद्र व्यवहार गरेको आरोप पनि उनले लगाइन् ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।