
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा बुधबारदेखि केन्द्रीय सदस्यहरुले धारणा राख्ने क्रम सुरू हुने भएको छ ।
मंगलबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठकमा बुधबारबाट केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने छन् । प्रत्येक सदस्यलाई ७ मिनेटको समय दिइएको छ । बैठक केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
एक वर्षपछि मंगलबारदेखि सुरू भएको बैठकमा महामन्त्री गगन थापाले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । प्रतिवेदनमा आउँदो एक वर्षभित्रमा सात लाख नयाँ पार्टी सदस्य बनाउने गरी ‘घर–घर जाऔँ, पार्टी सदस्य बनाऔँ’ अभियान चलाउने थापाको प्रस्ताव छ ।
यस्तै, महामन्त्री थापाले केन्द्रीय सदस्यहरूलाई असार महिनामा मात्रै पार्टीको कामबाट छुट्टी दिने प्रस्ताव पेस गर्नुभएको छ । उहाँले अरू ११ महिना नेता तथा कार्यकर्ता पार्टी काममा लाग्नुपर्ने तालिका पेस गर्नुभएको छ । असार महिना किसानको महिना भएको र खेतीको समय भएको भन्दै महामन्त्री थापाले पार्टीका नेता, कार्यकर्ताले त्यो महिनामा किसानलाई सहयोग गर्नुपर्ने बताउनुभयो ।
यस्तै, बैठकमा उपसभापति एवम् उपप्रधानमन्त्री पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएबापत आफ्नो पार्टीले राष्ट्रपति पद पाउने पूर्वसहमति भएको खुलासा गर्नुभयो । कांग्रेसले राष्ट्रपति पाउने सर्तमा प्रधानमन्त्री प्रचण्डलाई पुस २६ गते विश्वासको मत दिइएको उहाँको भनाई छ । उपसभापति खड्काले पार्टी सभापति शेरबहादुर देउवासँगको छलफलमा प्रचण्डले राष्ट्रपति नेपाली कांग्रेसलाई दिने प्रतिबद्धता व्यक्त गरेसँगै विश्वासको मत दिइएको उहाँले स्पष्ट पार्नुभयो ।
प्रतिक्रिया दिनुहोस्