
काठमाडौं । बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि बुधबार पनि सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुंगाना र नहकुल सुवेदीको संयुक्त इजलासमा मंगलबार बहस हुँदाहुँदै समय सकिएपछि उक्त रिटमा बुधबार पनि सुनुवाइ हुने भएको हो ।
सञ्चार सचिव कृष्णबहादुर राउत सहितका व्यक्तिहरूले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा शुक्रबारदेखि निरन्तर सुनुवाइ भइरहेको छ । उक्त प्रकरणमा कीर्ते गरेको अभियोगमा सचिव राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, व्यवसायी मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरु गरेपछि सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गरिएको थियो ।
उनीहरुले रिट निवेदनमा आफूहरुलाई बिनाशर्त थुनामुक्त गर्न माग गरेका छन् । सर्वोच्च अदालतले सो विवादसम्बन्धी छ थान रिट निवेदन एकै ठाउँमा राखेर सुनुवाइ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्