
काठमाडौं । नेपालबाट हजका लागि साउदी अरबको मक्कामदिना सरिफमा सहभागी भएका हजयात्री स्वदेश फर्किएका छन् ।
बुधवार बिहान उनीहरु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै स्वदेश फर्किएका हुन् । यस वर्ष नेपालबाट हजका लागि १ हजार २ सय जना मक्कामदिना गएका थिए । मक्का मदिनामा हजयात्रा पूरा गरी उनीहरु सबै स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएका हजयात्रीहरुले हज यात्रामा राम्रो व्यवहार नभएको गुनासो गरे ।
उनीहरुले नेपालबाट गएका हज कमिटीका सदस्यहरुले हज यात्रीका लागि कुनै राम्रो व्यवहार नगरेको र फोहोर खानेकुरा, बस्ने ठाउँ पैसा तिरेअनुसार राम्रो नदिएको गुनासो गरे । हजयात्री राजअहम्मद अन्सारीले पैसा तिरेबापत सुविधा नपाएको र फोहोर होटलमा फोहोर खानेकुरा खुवाएको बताउनु भयो ।
उहाँले नेपालबाट गएका हजयात्रीहरु हराउँदासमेत नेपालबाट गएका हज प्रतिनिधिहरु खोज्नसमेत नगएको बताउनु भयो । उहाँले हज कमिटी गठन गर्दा स्वच्छ छविका व्यक्ति राख्न र पार्टीका कार्यकर्ता नराख्न आग्रह गर्नुभयो ।
अन्सारीले हज यात्रामा नेपालको प्रतिनिधि भइ गएका हज कमिटीका प्रतिनिधिहरुले नेपालको बद्नाम गरेकाले सबै दोषीहरुलाई कारबाही गर्न माग गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्