२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


सोलारमा चट्याङले क्षति पुर्‍याएपछि खानेपानीको समस्या


533
Shares

काठमाडौं । इच्छाकामना गाउँपालिका–६ स्थित खानेपानी आयोजनाको सोलारमा चट्याङले क्षति पुर्‍याएपछि स्थानीय खानेपानीको समस्यामा परेका छन् ।

चण्डिभञ्ज्याङ्मा सञ्चालित ढुङ्ग्रे लिफ्टिङ खानेपानी आयोजनाको सोलारमा असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको थियो ।

क्षति पुर्‍याएको महिना दिन पुग्न लाग्दा पनि समयमै मर्मत गर्न नसक्दा खानेपानीको लागि स्थानीयले सास्ती व्यहोर्नु परेको हो । दुई वर्षअघि सञ्चालनमा आएको उक्त खानेपानी आयोजनाको सोलार प्यानल र कन्ट्रोलरमा गत असार ८ गते परेको चट्याङले क्षति पुर्‍याएको ढङ्ग्रे–तुन्तेस खानेपानी आयोजना उपभोक्ता समितिका अध्यक्ष दिलकुमार गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार चट्याङले आयोजनाको मुख्य पम्पिङमै समस्या आएपछि ट्याङ्कीमा पानी तान्न सकिएको छैन ।

अध्यक्ष गुरुङका अनुसार उक्त आयोजनाबाट ढुङ्ग्रेका करिब ३५ घरपरिवारका साथै राष्ट्रिय माध्यमिक विद्यालय ढुङ्ग्रे र चण्डीभञ्ज्याङ स्वास्थ्य चौकीले खानेपानी प्रयोग गरिरहेका थिए । लामो समयदेखि नियमित खानेपानी आपूर्ति हुन नसक्दा स्थानीयसँगै विद्यालय र स्वास्थ्यचौकीलाई समेत अप्ठ्यारो परेको उहाँको भनाइ थियो ।

खानेपानीको अभावका कारण वर्षायाममा झरेको बलेनीको पानी संकलन गरी काम चलाउनु परेको राष्ट्रिय माध्यामिक विद्यालयका प्रधानाध्यापक विश्वनाथ गुरुङले बताउनुभयो ।

खानेपानी उपभोक्ता समितिका अध्यक्ष दिल गुरुङले चट्याङले क्षति पुर्‍याएको सोलार प्यानल र कन्ट्रोलर मर्मतको लागि समितिसँग रकम नभएकाले वडा र पालिकालाई अनुरोध गरेको बताउँदै पालिकाले अहिलेसम्म सुनुवाइ नगरेको जानकारी दिनुभयो ।

इच्छाकामना गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले स्थानीयको गुनासो आउने वित्तिकै तत्कालै प्राविधिक पठाएर चट्याङले क्षति पुर्‍याएको कन्ट्रोलर मर्मतका लागि काठमाडौँ पठाइएको बताउनुभयो । मर्मत कम्पनीले समयमै मर्मत गरेर जडान नगरिदिएकाले नियमित खानेपानी वितरणमा ढिलाइ भएको उहाँको भनाइ थियो ।

वडा नं ६ का वडाध्यक्ष लक्ष्मण चेपाङले चट्याङले क्षति पुर्‍याएको स्थानमा विद्युत् पुगेकाले सोलार सिस्टम हटाई छिट्टै विद्युतीय सिस्टम जडान गरी खानेपानीको समस्याको दीर्घकालीन रुपमा समाधान गरिने बताउनुभयो ।

इच्छाकामना गाउँपालिकाको ‘एक घर एक धारा’ अवधारणाअन्तर्गत गाउँपालिकाको रू. २५ लाख, जिल्ला समन्वय समिति चितवनको रू. २५ लाख र वाग्मती प्रदेश सरकारको रू. ५० लाख गरी कूल रू एक करोडको लागतमा साझेदारी सिरान ढङ्ग्रे, माझ ढुङ्ग्रे र तुन्तेस गाउँका करिब ८० घरधुरीमा खानेपानी पुर्‍याउनका लागि दुई वर्ष अघि उक्त खानेपानी आयोजना निर्माण गरिएको थियो ।

ढुङ्ग्रे र तुन्तेसमा २० हजार लिटर क्षमताको छुट्टाछुट्टै पाँच वटा ट्यांकी निर्माण गरिएको छ भने करिब ८० घरमा घरैपिच्छे एउटा धारा निर्माण गरिएको आयोजनाले जनाएको छ ।