
काठमाडौं । बुढीगण्डकी जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन भएको छ ।
गोरखाको सिरुङ्टारमा बुधबार प्रधानमन्त्री पुष्पकमल दाहालले १२ सय मेगावाट क्षमताको जलविद्युत आयोजनाको फिल्ड कार्यालय उद्घाटन गर्नुभएको हो ।
यससँगै बहुचर्चित यो आयोजनाको निर्माण सुरु हुने अपेक्षा बढेको छ । गोरखा र धादिङ जिल्लाको बीचबाट बग्ने बुढीगण्डकी नदीमा २६३ मिटर अग्लो ड्याम बन्ने छ भने पावर हाउस गोरखा जिल्लामा रहने छ । ६३ किलोमिटर क्षेत्रफलमा फैलिने ड्याम बनेपछि पानी भरिन करिब डेढ वर्ष लाग्ने बताइएको छ ।
सरकारले आयोजनालाई अगाडि बढाउन भन्दै यही साता काठमाडौंमा केन्द्रीय कार्यालय स्थापना गरिसकेको छ । यस्तै, बुढिगण्डकी जलविद्युत कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा जगत श्रेष्ठ नियुक्त हुनुभएको छ । कम्पनी खुलेर केन्द्रीय र स्थानीय कार्यालय खुले पनि आयोजनाका लागि चाहिने लगानी रकम भने टुंगो लागेको छैन ।
आयोजना बनाउने लक्ष्यसहित हालसम्म करिब ४२ अर्ब खर्च भइसकेको छ । यस्तै, सरकारले बुढिगण्डकीका लागि भन्दै पेट्रोलियम पदार्थबाट प्रतिलिटर १० रुपैयाँका दरले ७२ अर्बभन्दा बढी संकलन गरिसकेको छ । अहिले भने सरकारले पूर्वाधार विकास शुल्कका नाममा उक्त रकम उठाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्