१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्छ : मन्त्री श्रेष्ठ


91
Shares

काठमाडौं । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

बुधबार सञ्चार रजिष्ट्रारको कार्यालय वागमती प्रदेशले प्रकाशन गरेको पुस्तक साइबर सुरक्षा अवधारणा र अभ्यासको विमोचन कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनुपर्ने बताउनुभएको हो ।

प्रदेश मन्त्री श्रेष्ठले साइबर सुरक्षा प्रणालीलाई बलियो बनाउनका लागि केही सुरक्षाकर्मीलाई जिम्मेवारी सुम्पेर मात्रै नपुग्ने बताउनुभयो । उहाँले साइबर सुरक्षामा परिचालित सुरक्षाकर्मीलाई समयानुकल प्रशिक्षित गरिरहनुपर्नेमा जोड दिनुभयो । उहाँले साइबर सुरक्षामा खटिने जनशक्ति समयानुकुल अपडेट र अपग्रेड भइराख्नुपर्ने बताउनुभयो । मन्त्री श्रेष्ठले साइबर सुरक्षाको चुनौतीसँग सामना गर्नका लागि प्रदेश तहमा पनि संयन्त्रको आवश्यकता रहेको उल्लेख गर्नुभयो । उहाँले प्रदेशमा प्रादेशिक सूचना प्रविधि आकस्मिक सहायता समूह गठन गरी सक्रिय गराउनुपर्ने बताउनुभयो ।

मन्त्री श्रेष्ठले साइबर सुरक्षामा आन्तरिक र वाह्य समन्वयको जिम्मेवारी संघीय सरकारले लिनुपर्ने बताउनुभयो । उहाँले साइबर सुरक्षाको सचेतना नागरिक तहसम्म फैलाउनुपर्ने हुन्छ बताउनुभयो । नागरिक तहसम्म सचेतना फैलाउने काम प्रदेश र स्थानीय तहले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले केन्द्रिय डाटा सेन्टरलाई सुरक्षित गर्न प्रादेशिक तहमा साइबर सुरक्षा अप्रेसन सेन्टर राख्नु आवश्यक रहेको उल्लेख गर्नुभयो ।

मन्त्री श्रेष्ठले संघीय नीतिमा तालमेल मिलाएर प्रदेश र स्थानीय विशेषताका आधारमा साइबर सुरक्षा रणनीति लागू गर्नुपर्ने बताउनुभयो । उहाँले सो रणनीतिमा मेल खानेगरी ऐन कानूनहरु निर्माण गर्नुपर्ने र त्यस्तो विषयमा संघीय सरकारले प्रोत्साहित गर्ने नीति बनाउनु पर्ने बताउनुभयो ।