
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले राष्ट्रिय सुरक्षाको महत्वपूर्ण अङ्गको रुपमा रहेको नेपाली सेनाको सम्बन्धमा केही समय यता अकारण निरर्थक बहस सिर्जना गर्न खोजिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बुधबार एक विज्ञप्ति जारी गर्दै योजनाबद्ध ढंगबाट स्वघोषित बुद्धिजीवी तथा केही राजनीतिक दलका जिम्मेवार नेताहरूबाट नै नेपाली सेनाको संख्या घटाउनु पर्ने र सेनाविहीन राज्यको परिकल्पना जस्ता विषयहरू श्रृंखलावद्ध रूपमा बहस चलाउनु रहस्यमय, अनुचित र दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्नु भएको छ ।
बिज्ञप्तिमा भनिएको छ –‘राज्यको आर्थिक भार घटाउने प्रशस्तै उपायहरू विद्यमान छन् र यसबारे राप्रपा बहस गर्न तयार छ । नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमा समेत प्रतिबद्ध रहेको नेपाली सेनालाई कमजोर बनाउने गरी बहस केन्द्रीत गरिनु हुँदैन ।’ त्यसैगरी लिङलेनले नेपालको एकीकरण देखि विश्वमा शान्ति कायम गर्ने कार्यमा समेत अलग पहिचान बनाएको, विकास निर्माण, सीमानाको रक्षा, सामरिक महत्व, वन्यजन्तु संरक्षण, हिमाली पर्वतमालाहरूलाई स्वच्छ राख्ने चूनौतिपूर्ण कार्यदेखि आन्तरिक सुरक्षा र विपद्को समयमा समेत प्रभावकारी ढंगबाट आफ्नो जिम्मेवार भूमिका निर्वाह गरिरहेको नेपाली सेनालाई अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद र आपत्तिजनक रहेको उल्लेख गर्नुभएको छ ।
कुनै पनि देशको सैनिक संगठन भूराजनीति र सामरिक आवश्यकतालाई दृष्टिगत गरी गठन हुने भएकाले नेपाली सेनालाई आफ्नो दायित्वबाट विमुख गराइने कुनै पनि प्रयासलाई राप्रपाले किमार्थ स्वीकार नगर्ने अध्यक्ष लिङदेनले जनाउनु भएको छ । सेनाको संख्या कटौतीको बेमौसमी बहसलाई अन्त्य गरी बलियो, अनुशासित र गौरवशाली संस्थाको रुपमा नेपाली सेनालाइ अक्षुण्ण राख्न सबैको साझा प्रतिवद्धताका लागि समेत लिङदेनले आव्हान गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्