२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


जनताको अपेक्षा अनुसार सेवा प्रवाहको कामलाई प्रभावकारी बनाउन जरुरी छ : उपराष्ट्रपति यादव


65
Shares

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जनताको अपेक्षा अनुसार सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभएको छ ।

उपराष्ट्रपति यादवले नेपालका प्रशासन, व्यवस्थापन र कर्मचारी संयन्त्रमा सुनिने गरिएका गुनासो, विकृति, विसंगतिको अन्त्यका लागि पनि जनमुखि सेवा प्रवाहको कामलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक्ता रहेको बताउनुभएको हो ।

नेपाल जन–प्रशासन संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले मुलुकको आर्थिक समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्पका साथ अघि बढनु पर्ने समेत स्पष्ट पार्नुभयो । मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उपराष्ट्रपति यादवले सोही अनुरुपको जनशक्ति परिचालन गर्दै आफ्नो सेवा प्रवाहलाई थप सुदृढ, परिष्कृत, परिमार्जन अघि बढनै पर्नेतर्फ पनि तीन वटै तहका सरकारको गम्भिर ध्यानाकर्षण गराउनुभयो ।

उहाँले जनताको सेवा प्रवाहको कामलाई सहज, सरल, प्रभावकारी र पारदर्शी बनाउन पनि नेपाल जन प्रशासन संघले उनीहरुको क्षमता अभिवृद्धिका लागि आवश्यक प्रशिक्षणको व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

उपराष्ट्रपति यादवले मुलुकमा सदाचार, इमान्दारिता, जवाफदेहिता, पारदर्शिता अभिवृद्धि गर्नका लागि नेपाल जन प्रशासन संघले पैरवी र वकालतको कामलाई पनि तीव्रता दिने विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा मुलुकको प्रशासन र व्यवस्थापनको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएकाहरुलाई सम्मान गरिएको थियो ।