८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


मुद्दा मिलाउन बिचौलिया र कर्मचारीको ‘सेटिङ’


793
Shares

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलाली परिसरमा खडा गरिएको मिटरब्याज पीडित सहायता कक्ष दैनिकजसो भरिभराउ हुुन्छ ।

प्रशासनले गत जेठ १४ गतेसम्म परेका मिटरब्याज पीडितका उजुरीमा दुवै पक्षलाई सहमतिमा लिएर मिलापत्र गराउने प्रक्रिया थालेपछि पीडितहरू धमाधम आउन थालेकाले सहायता कक्षमा भीडभाड बढेको छ ।

प्रहरीको उपस्थितिमा प्रशासनले मिटरब्याज पीडित र पीडक व्यक्तिलाई एकआपसमा सहमति गराउने काम गरिरहेको छ भने सहमति नजुटेका उजुरी थप कारबाहीका लागि प्रहरी र अदालत मुद्दा पठाइने स्थानीय प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले उजुरी दिन तोकिएको अन्तिम समय १४ जेठसम्म २ सय ४५ वटा उजुरी परेको जानकारी दिनुभयो ।

जोशीका अनुसार अहिले ती उजुरीको अध्ययन गर्ने, दुवै पक्षलाई बोलाएर छलफल गराउने तथा सहमति गराएर मिलापत्र गराउने काम भइरहेको छ । हालसम्म मिटरब्याज सम्बन्धीका ६४ वटा उजुरीमा दुवै पक्षलाई बोलाएर छलफल गरिएको छ । तीमध्ये १४ उजुरीमा भने सहमति गरिएको छ । बाँकीको हकमा भने दुवै पक्ष सहमतिमा नआएका कारण थप कारबाहीको प्रक्रिया अघि बढेको छ ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।