१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


प्यूठानमा ड्रागन खेतीको आकर्षण बढ्दो


4.381k
Shares

राजेश जिसी

प्यूठान । ड्रागन फलमा प्यूठानका कृषकको आकर्षण बढ्दै गएको छ । रोजगारीको अवसरको खोजीमा युवाहरु भौतारीरहेको बेला प्युठानका युवा ड्रागन खेती गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

मनमा इच्छा, चाहना र काम गर्ने जागँर भयो भने कृषिबाट राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् प्यूठानका युवा नबिन श्रेष्ठ र लोक बहादुर गुरुङ । कुनै समय राम्रो आम्दानी हुने प्रविधी निर्माणको क्षेत्रमा काम गरेका पूण्यखोलाका नबिन श्रेष्ठ अहिले खेतीमा लागेका छन् ।

रोजगारी भन्दा ब्यबसायबाट दीर्घकालीन आम्दानी हुने भएपछि उनले स्थानीय लोक बहादुर गरुङसँगको साझेदारीमा ड्रागन फ्रुटको खेती गर्न थालेका हुन् । उन्ले अहिले १ बिगाहमा सिउडी प्रजातीका ३ हजार ड्रागनका विरुवा लगाएका छन् ।

यी विरुवासँगै उनले ड्रागनबाट राम्रो आम्दानी लिन थालेका छन् । कृषिमा केहि गर्ने र पछिल्लो समय बजारमा यो फलको माग उच्च रहेका कारण उनीहरु यो फलको व्यवसायिक उत्पादनमा लागेका हुन ।

बहु उपयोगी फलका रुपमा चिनिएको ड्रागन फलको खेतीमा लाग्दा छिमेकीले उनलाई यो खेती नगर्न धेरै सुझाए । तर, उनले गरेरै देखाउने भन्दै यो खेतीमा लागिनै रहे । अहिले यो फार्म ड्रागन खेती गर्नेहरुका लागी अध्ययन केन्द्रको रुपमा पनि बिस्तार भएको छ । यो खेतीको अध्ययनका लागी प्यूठानका साथै छिमेकी जिल्ला रोल्पा, अर्घाखाँची, गुल्मीबाट किसान आउने गरेका छन् ।

पछिल्लो समय पहाडी जिल्लामा ड्रागन तर्फ किसानको आकर्षण बढ्दै गएको छ । कम सिंचाइ चाहिने र बजार मुल्य राम्रो भएका कारण प्यूठानका किसान यो खेतीतर्फ आकर्षित हुदै गएका हुन् । उनीहरुको सिको गर्दे प्यूठानका केही युवाहरु पनि ड्रागन खेतीमा लागेका एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालयका प्रमुख भाष्कर पौडेल बताउछन् ।

पसिना आफनै देशमा बगाए केही गर्न सकिन्छ भन्ने गतिलो उदाहरण बनेका छन् श्रेष्ठ र गुरुङ । उनीहरुले जस्तै मेहनत गरे रोजगारीको खोजीमा देश विदेश भौतारिरहनु पर्ने थिएन । तर, कृषकमुखी सरकारी निति नहुँदा भने किसानले पछिल्लो समय कृषिबाट खासै प्रगति गर्न सकेका छैनन् ।