
काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई निलम्बन गर्नुपर्ने माग उठेको छ ।
बैठकको तेस्रो दिन बिहिबार प्रस्तुत एजेण्डाबारे आफ्नो धारणा राख्दै केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य खाँणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने माग राख्नुभएको हो ।
केन्द्रीय सदस्य सिवाकोटीले खाणप्रति अन्याय भएको भए कांग्रेस सरकारबाट हट्नुपर्ने होइन् भने तत्काल पार्टीबाट निलम्बन गर्नुपर्ने धारणा राख्नुभयो । नक्कली भुटानी शरणार्थी प्रकरणबारे पार्टीमा देखिएको द्विविधाले राम्रो नगर्ने जिकिर गर्दै उहाँले जारी बैठकबाट भ्रमपूर्ण सन्देश प्रसार हुन नहुने बताउनुभयो । बुधबारको बैठकमा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा लगायत केही केन्द्रीय सदस्यले भने पूर्वगृहमन्त्री खाँणको बचाउमा धारणा राखेका थिए ।
आजको बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री समेत रहेका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले महामन्त्री गगन थापाले दिएका अभिव्यक्तिले पार्टीप्रति नकारात्मक भ्रम फैलिएको भन्दै जथाभावी नबोल्न सचेत गराउनुभयो । उहाँले संसदीय दलको नेता फेर्न प्रयास गरिरहेको भन्दै दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै बोल्नेभन्दा व्यवहारमा गरेर देखाउन महामन्त्री थापालाई चुनौती दिनुभयो ।
जारी केन्द्रीय समितिको बैठकमा कोशी प्रदेश नामाकरणको विषयलाई लिएर नेताहरुबीच आरोप प्रत्यारोप चलेको छ । बुधबार बसेको बैठकमा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीले सरकार गठन गर्दा सभामुखले मत हाल्न नपाउने जिकिर गर्दै कांग्रेसकै नेतृत्वमा बनेको कोशी सरकारमाथी प्रश्न उठाउनुभएको थियो ।
बुढाथोकीले प्रश्न उठाएको एक दिनपछि बिहीबार बसेको बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री समेत रहनुभएका कोशी प्रदेश सभापति उद्धव थापाले आफुलाई मुख्यमन्त्री नमाने केही फरक नपर्ने भन्दै निवर्तमान मुख्यमन्त्री हिक्मत कार्कीलाई नै मुख्यमन्त्री मान्न चुनौती दिनुभयो । बैठकमा केन्द्रीय सदस्य प्रकाश स्नेहीले पार्टीको विधानले महामन्त्रीहरुलाई अधिकार नदिँदा काम गर्न सक्ने अवस्था नदेखिएको टिप्पणी गर्नुभयो ।
केन्द्रीय सदस्य गुरू बरालले कांग्रेससहित ठूला दलप्रति जनतामा निराशा देखिएको भन्दै त्यसको कारण खोजी गर्नुपर्ने बताउनुभयो । केन्द्रीय सदस्य चन्द्र केसीले भने पूर्व गृहमन्त्री खाँणको प्रतिरक्षा गर्नुभयो । केसीले मुद्दा किनारा नलाग्दै भैलो गाउँदै हिडेको भन्दै पार्टीका नेताहरुको आलोचना गर्नुभयो । त्यसैगरी केन्द्रीय सदस्य उदय शमसेर राणाले पार्टीभित्र एक अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्