
काठमाडौं । बेलायतले पहिलो चरणमा एक सय जना नेपाली नर्स लैजाने भएको छ ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा एक सय जना नर्सलाई बेलायत पठाउनका लागि आवेदन खुलाएको छ ।
नेपाल बेलायतबीच भएको श्रम सम्झौता मन्त्रिपरिषद्बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले नर्सलाई रोजगारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।
दुई देशबीच गत वर्ष भदौमा श्रम सम्झौता भएको थियो । बेलायत जान इच्छुक नेपाली नर्सहरुले अक्टोवर १९ सम्ममा अनलाइन आवेदन दिन सक्नेछन् । न्यूनतम योग्यता पिसिएल नर्सिङ अध्ययन पुरा गरेको हुनुपर्ने छ भने नर्सिङमा स्नातक तथा स्नातकोत्तर गरेकाले पनि आवेदन दिन पाउने छन् । तर उमेर भने २० वर्षदेखि ४५ वर्षसम्मको हुनुपर्ने छ ।
श्रम सम्झौता अनुसार उनीहरु बेलायतमा पाँच वर्ष बस्न पाउने छन् भने त्यसपछि अनिवार्य रुपमा स्वदेश फर्किनु पर्नेछ । नेपालमा कम्तिमा साढे दुई वर्ष सरकारी मान्यताप्राप्त अस्पतालमा काम गरेको हुनुपर्ने तथा आईईएलटीएसमा ६ दशमलव ५ अङ्क ल्याई उत्तीर्ण भएको हुनुपर्ने छ ।
बेलायत पुगेर त्यहाँको नर्सिङ काउन्सिलबाट परीक्षा पनि पास गर्नुपर्ने प्रावधान पनि राखिएको छ । सवै प्रक्रिया पूरा गरेर जान पाउनेहरुले कुनै शुल्क भने तिर्नुपर्ने छैन । बोयतमा वार्षिक ५८ लाख रुपैयाँसम्मको तलब उनीहरुले पाउनसक्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्