
काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीयतालाई बलियो बनाउनका लागि राष्ट्रिय सभा अध्यक्ष र सभामुखहरुले निष्पक्ष भएर सभा चलाउनुपर्ने बताउनुभएको छ ।
शुक्रबार संघीय संसद सचिवालयले काठमाडौंमा आयोजना गरेको संघीय संसद र प्रदेश सभाको अनुभव आदान–प्रदान एवं अन्तरक्रिया कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले संघीयतालाई जोगाउनका निम्ति सभालाई निष्पक्ष रुपमा चलाउनुपर्ने बताउनुभयो । उहाँले आफूहरुको व्यवहारले नै संघीय व्यवस्था बलियो हुने बताउनुभयो ।
अध्यक्ष तिमिल्सिनाले संघीयता ल्याउनका लागि लडेका दलहरु पनि भाषणको रटानका नलागी व्यवहारबाट पुष्टि गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताले सुशासन र आर्थिक समृद्धि खोजेको भन्दै दलहरुले जनताको सो आकांक्षालाई पूरा गर्न लाग्नुपर्ने बताउनुभयो । उहाँले जनताले महशुस गर्नेगरी आर्थिक विकास, सुशासन दिन सकेमा संघीयताको विरोध गर्नेहरु कम हुने उल्लेख गर्नुभयो ।
अध्यक्ष तिमिल्सिनाले विपक्षीले सधैँ नराम्रो कुरा मात्रै नभन्ने भन्दै सरकारले संसदमा विपक्षीले बोलेका कुराहरुलाई पनि गम्भिरतापूर्वक लिनुपर्ने बताउनुभयो । उहाँले विपक्षीका कुरालाई पनि सरकारले आत्मसात गरेर कमी, कमजोरी सुधार्नुपर्ने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्