
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले कालीगण्डकी करिडोर २२० केभी प्रसारणलाइनको निर्माण तत्काल सम्पन्न गर्न आयोजना व्यवस्थापन र निर्माण व्यवसायीलाई ताकेता गरेको छ ।
आयोजनाको निर्माण गत असारमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । तर,रुख कटान अनुमति प्रक्रियामा भएको ढिलाइ,स्थानीयको अवरोध र निर्माण व्यवसायी भारतीय कम्पनी एल एण्ड टीको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण प्रभावित भएको हो । निर्माणमा ढिलाइ भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले निर्माणस्थलको अनुगमन गरी आयोजना व्यवस्थापन र निर्माण व्यवसायीसँग निर्माणमा देखिएका समस्या र समाधानका उपायका विषयमा छलफल गर्नुभयो ।
छलफलबाट प्रसारणलाइनको निर्माण यही साउनभित्र सम्पन्न गर्ने नयाँतालिका तय गरिएको हो । छलफलमा कार्यकारी निर्देशक घिसिङले जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत् प्रवाहका लागि कालीगण्डकी करिडोर प्रसारणलाइन अत्यन्तै महत्वपूर्ण र संवेदशील रहेकाले जुनसुकै अवस्थामा पनि साउनभित्र सम्पन्न गर्न निर्देशन दिनुभयो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ,स्याङ्जा, पाल्पा,रुपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्तापश्चिम)को सुनवल नगरपालिका–१३ भुमहीस्थित नयाँ बुटवल सबस्टेसनसम्मको १२७ किलोमिटर डबल सर्किट प्रसारणलाइन आयोजना दुई खण्डमा विभाजन गरी निर्माण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्