
प्यूठान । जथाभावी सडक निर्माण गर्दा प्युठान नगरपालिकाका वडा नम्बर ९ र १० को बजार तथा बस्ती जोखिममा परेको छ । मल्लरानीबाट अर्घाखाँची जोड्ने सडक निर्माणका क्रममा खनेको माटो जथाभावी फाल्दा बस्ती जोखिममा परेको हो ।
प्युठान नगरपालिका– १० का दान बहादुर जिसी गत साउन ४ गते परेको पानीका कारण स्थानीय घुस्वाङ खोलामा आएको बाढीले क्षति पुर्याएको घर, बारी र खेत हेरेर टोलाइरहेका छन् । मल्लरानी, चुजा, अर्घाखाँची जोड्ने सडक निर्माणका क्रममा माटो ढुङ्गा जथाभावी फाल्दा बस्तीमाथीबाट लेदोसहितको बाढीले उनको घर बस्नै नमिल्ने भएको छ भने चार रोपनीमा लगाएको धान र मकै बालीमा क्षति गरेको छ । बाढीले क्षति पर्याएपछि उनले छिमेकीको घरमा आश्रय लिएका छन् ।
त्यस्तै, प्यूठान नगरपालिका– ९ बुढादेबीका राम बहादुर जिसीको अवस्था पनि दान बहादुरको भन्दा कम छैन । गत ४ गते घुस्वाङ खोलामा आएको बाढी घरमा पस्दा लाखौंको क्षति भएको छ । बाढी घरमा पस्दा चार वटा बाख्रा, डेढ सय किलो बोइलर कुखुरा, ३५ वटा लोकल कुखुरा र मिल बगाएको छ ।
वातावरण प्रभाव मुल्याङ्कन नगरि सडक निर्माण गर्ने प्रवृतिका कारण बेलाबेला प्राकृतिक प्रकोप उपन्न हुने गरेको छ । जसको उदाहरण प्यूठान नगरपालिकाका दुई वटा वडाहरुमा देखिएको छ । सडक निर्माण गर्दा तल्लो क्षेत्रका बस्तीका बारेमा अध्ययन गर्नुपर्ने भएपनि अध्ययन बिना सडक निर्माण गर्दा यस्तो विपत आएको प्युठान नगरपालिका– ९ का कृष्णबहादुर जिसीले बताए ।
गत असारमा यही खोलामा आएको बाढीले बगाउँदा स्कुलबाट फर्कदै गरेकी बालिकाको ज्यान गएको थियो । खोलामा आएको बाढीले प्युठान नगरपालिकाको वडा नं. ९ र १० को चार घर परिवार बिस्थापित भएका छन् भने करिब ५ सय रोपनीमा लगाइएको धान र मकै बालीमा क्षति भएको छ । प्युठान नगरपालिकाले क्षतिको विवरण संकलन भइरहेको र खोलालाई पुरानै अवस्थामा फर्काउने काम भइरहेको प्युठान नगरपालिकाका उपमेयर देवेन्द्र बर्माले बताएका छन् ।
वातावरणीय प्रभाव मुल्याङ्कन र सडकभन्दा तलका बस्तीमा पर्ने असरको अध्ययन नहँुदा यस्तो समस्या आएको हो । तर्सथ विकास निर्माणका काम गर्दा यस्ता कुरालाई ध्यान दिनु आवश्यक छ ।
राजेश जिसी
प्रतिक्रिया दिनुहोस्