
काठमाडौं । देशभर वर्षायाम शुरु भएसँगै रगत संकलन कम हुन थालेको छ ।
रगत संकलन र आपूर्ति गर्दै आएको संस्था केन्द्रिय रक्त सञ्चार सेवाका अनुसार साउनदेखि मंसिर महिनासम्म मानिसहरु खेतीपातीमा संलग्न हुने र चाडपर्व पनि यही अवधिमा पर्ने भएकाले रगत संकलनमा कमी हुने गरेको हो ।
वर्षातको समय शुरु भएदेखि मंसिर/पुससम्म दैनिक करीव आठ सय युनिटमात्रै रगत संकलन हुने केन्द्रीय रक्तसञ्चार सेवाका निर्देशक दिव्यराज पौडेलले बताउनु भयो । उहाँले अन्य समयमा भने नेपालमा एक हजार एक सय युनिटसम्म रगत संकलन हुने गरेको बताउनु भयो । केन्द्रीय रक्त सञ्चार सेवातर्फ २०७९/८० मा ३३ हजार चार सय ८५ युनिट रगत संकलन भएको थियो । पौडेलले सो अवधिमा ५४ हजार १२३ युनिट रगत वितरण भएको बताउनु भयो । पौडेलले रक्तदातालाई रक्तदान गर्न जनचेतनामुलक कार्यक्रम गर्दै आएको र गत वर्षहरुको तथ्याङ्क हेर्दा देशभर दैनिक एक हजार दुई सय युनिट रगत आवश्यकता पर्ने बताउनु भयो ।
उहाँले देशभर १२० वटा रक्त सञ्चार सेवा रहेको र हाल देशभर २ लाख ६२ हजार ४ सय ८१ नियमित रक्तदाता रहेको बताउनु भयो । निर्देशक पौडेलले नेपालमा कुल जनसंख्याको ०.९ प्रतिशत नागरिक नियमित रक्तदाता रहेको बताउनु भयो । कुल जनसंख्याको १.५ प्रतिशत रक्तदाता भए नेपालमा रगतको अभाव नहुने बताउनु भयो । नेपालका रक्तदाताहरुको परोपकारी भावना रहेको र यसलाई दुई गुणा बनाउनसके चाहिएको बेला रगत दिन सकिने बताउनु भयो । १८ वर्ष उमेर पुगेपछि जन्मदिन महोत्सव रक्तदान गरेर मनाऔं भन्ने अभियानलाई पनि अघि बढाएको बताउनु भयो ।
निर्देशक पौडेलले पाठ्यक्रममै रक्तदानलाई प्रवद्र्धन गर्ने खालका विषय समावेश गर्नुपर्ने बताउनु भयो । पौडेलले संघ र प्रदेश सरकारले विपन्नहरुलाई रगतमा सहुलियत दिने व्यवस्था गर्ने प्रवन्ध मिलाउनुपर्नेमा पनि जोड दिनुभयो । पछिल्लो तथ्याङ्क अनुसार नेपाल रेडक्रस सोसाइटीबाट देशभर एक वर्षको अवधिमा २ लाख ७३ हजार एक सय ७० युनिट रगत संकलन भएकोमा ३ लाख ५२ हजार ९१९ युनिट रगत वितरण भएको छ ।
प्रतिक्रिया दिनुहोस्